गुरुवार, 24 अप्रैल 2014

घरेलु कामदारको सुरक्षा गर्न कतार असफलः एम्नेष्टी

दोहा, वैशाख ११ - एम्नेष्टी इन्टरनेशनले कतार घरेलु महिला कामदार (हाउसमेड)माथि हुने शारीरिक, मानशिक र जबरजस्ती श्रम शोषण रोक्न असफल भएको भन्दै बुधबार प्रतिवेदन सार्वजनिक गरेको छ ।
उसले 'मेरो सुताई नै मेरो आराम हो, कतारमा घरेलु कामदारमाथिको शोषण' नामको प्रतिवेदन सार्वजनिक गरेको छ । एम्नेष्टीले पारिश्रामिक र काम गर्ने घण्टा झुक्काएर हाउसमेडलाई कतार ल्याउने उनीहरु यौन तथा शारीरिक हिन्सामा समेत पर्न गएको उसले जनाएको छ ।
qatar 'भेदभावपूर्ण व्यवस्थाले घरेलु कामदारहरु निकै पीडित हुनु परेको छ । यसले उनीहरुको न्युनतम सुरक्षाको अभाव हुनुको साथै जबरजस्ती श्रम, मानव बेचबिखनको लागि  खुल्ला गरेको छ', एम्नेष्टीद्धारा जारी विज्ञप्तीमा एम्नेष्टीका विश्व सवाल निर्देशक आन्द्रे गाउघरानले भनेका छन्,'त्यस्ता महिला एकदमै फुत्किन नसक्नेगरी समस्यामा परेका हुन्छन् । दुर्यवहार गर्ने मालिकको घरलाई छोड्न सक्तैनन् ।' एम्नेष्टीका अनुसार कतारमा झन्डै ८४ हजार घरेलु कामदार छन् । जसमा सबैभन्दा बढी दक्षिण एसियाका देशका महिलाहरु काम गर्न आएका छन् । त्यस्ता कामदारले हप्तामा एक सय घण्टा भन्दा बढी काम गर्नुपर्ने स्थिति रहेको प्रतिवेदनले जनाएको छ । कतारको श्रम कानुनले घरेलु कामदारलाई हेर्ने गरेको छैन् । अन्य कानुनले पनि काम गर्ने घण्टा तोकेको छैन् । उनीहरुको उजुरीको सुनुवाई गर्न श्रम मन्त्रालय असक्षम रहेको प्रतिवेदनले जनाएको छ । 'दुर्यवहारमा परेको कामदारको लागि निश्चित अवस्था छ । एउटा उनीहरु घर छाडेर बाहिर बसेपनि भगुवा कामदारको रुपमा गैरकानुनी हैसियतमा बस्नुर्छ । नत्र घरफिर्ती केन्द्रबाट डिपोर्ट भएर फिर्नुपर्छ', गाउघरानले भने ।
घर छाडेर भागेका घरेलु कामदार स्पोन्सरको सहमति बिना घर जान पाउने छैन । एम्नेष्टीले गत मार्चसम्म दोहाको महिला जेलमा भएको मध्ये ९५ प्रतिशत घरेलु कामदार रहेको जनाएको छ । 'यौन तथा शारीरिक शोषणमा परेको कामदारले न्याय पाउन निकै जटिल छ', उसले भनेको छ,'कतिपय त यौन शोषणको शिकारमा समेत परेर जेल परेका छन् । जसमा गत मार्च सम्ममा १३ जना महिलाहरु दुई बर्ष मुनिका बच्चासहित जेलमा छन् ।'
एम्नेष्टीले श्रम कानुनमा घरेलु कामदारलाई न्याय दिन सक्ने दफा हटाई  सुधार गर्न अपिल गरेको छ । 'कतारले घरेलु कामदारको आधारभुत अधिकार स्थापना गर्न कानुनी  सुरक्षाको प्रत्याभूति मिलाउनु पर्छ', गाउघरानले भने,'यो जतिसक्दो छिटो गर्नपर्छ ।'  सन् २०२२ को फिफा विश्वकप गर्न गइरहेको कतारलाई घरेलु कामदारको सुरक्षाको बिषयमा गम्भीर हुन समेत एम्नेष्टीले सुझाव दिएको छ ।

कोई टिप्पणी नहीं: