शुक्रवार, 25 अप्रैल 2014

२० वर्षपछि आँखाको ज्योति

11-21--.jpgलोमन्थाङ (मुस्ताङ), वैशाख १२ - ८४ वर्षीया छोतेन गुरुङले मंगलबार २० वर्षपछि पुनः संसार देखिन् । मोतियाविन्दुले दुवै आँखाको नानी छोपेपछि अन्धकारमा बाँचेकी उनले शल्यक्रियापछि उज्यालो पाएकी हुन् । उपल्लो मुस्ताङको राजधानी मानिने माटोको सहर लोमन्थाङमा आयोजित निःशुल्क शिविरमा उनी १८ वर्षका नाति नामग्यालको बुई चढेर आएकी थिइन्, ठमठमी हिँडेर घर फर्किन् । उनको शल्यक्रिया गरेका डा. सुमन थापालाई मुसुक्क हाँसेर नमस्कार गरिन् र छेउमा बसेका नातिलाई मुसार्दै अँगालो हालेर हर्षका आँसु बगाइन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमन्थाङ कार्यालयको संयोजन, जिल्ला सामुदायिक आँखा उपचार केन्द्र जोमसोमको आर्थिक सहयोग र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर आयोजना गरिएको हो । लोमन्थाङ, छोसेर, छोनुप, घमी र चराङका ३७ जनाको शल्यक्रिया गरी आँखामा लेन्स राखिएको थियो । केही बालबालिकालाई निःशुल्क चश्मा र २ सय ५१ को आँखा परीक्षण गरिएको थियो । 

कोई टिप्पणी नहीं: