शुक्रवार, 25 अप्रैल 2014

६ लेन सडकको आकाशेपुलका ठेकेदार भागे

भक्तपुर, वैशाख १२ - ६ लेन सडकको आकाशेपुल निर्माणका ठेकेदार भागेपछि निर्माणाधीन पुलको काम अलपत्र परेको छ । ठेकेदार भागेपछि काठमाडौं-भक्तपुर सडक विस्तार आयोजनाले सूचना जारी गरी सम्पर्कमा आउन आग्रह गरेको छ । पुल निर्माणको काम लोकपि्रय/शंकरमाली जेभीले पाएको थियो । काम त्यत्तिकै छाडेपछि निर्माणाधीन पुलबाट सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्ने गरेका छन् । पुल निर्माण नभएको ठाउँमा सडक पार गर्ने सर्वसाधारण दुर्घटनामा समेत परेको ट्राफिक प्रहरीले जनाएको छ । ठेकेदारलाई पटक-पटक चेतावनी दिँदा पनि सम्पर्कमा नआएपछि आयोजनाले पत्रिकामार्फत सूचना प्रकाशित गरेको हो । ठेकेदारको लापरबाहीले ठिमी चोकदेखि सूर्यविनायकसम्मको ५ वटा पुल निर्माण पूरा हुन सकेका छैनन् । निर्माणाधीन सबैजसो पुलमा रेलिङ राख्ने र फिनिसिङको काम बाँकी छ । काम त्यतिकै छाडेर ठेकेदार सम्पर्कमा नआएपछि सूचना जारी गर्नुपरेको आयोजनाका इन्जिनियर किरण कार्कीले बताए । 'सूचना जारी गरेपछि ठेकेदार सम्पर्कमा आइसके,' उनले भने, 'पाँच दिनभित्र काम सुरु नगरे ठेक्का प्रावधानअनुसार थप कारबाही अगाडि बढाउँछौँ ।' जापान सरकारको सहयोगमा निर्माण भएको मूल सडकको काम ४ वर्षअघि सकिए पनि नेपाल सरकारले गर्नुपर्ने काम अझै पूरा भएको छैन । तीनकुनेदेखि सूर्यविनायकसम्मको ९ दशमलव १ किलोमिटर सडकमा ११ वटा आकाशेपुल निर्माण गर्नुपर्नेमा थिमीसम्मको सबैजसो पुल निर्माण सकिएको छ । यस क्षेत्रको पुलमा पनि फिनिसिङको काम स्तरीय छैन । निर्माणाधीन पुलबाट जोखिमपूर्ण यात्रा हुँदा पनि रोक्न सकेको छैन । 'वृद्धवृद्धा र बालबालिकालाई आवतजावतमा एकदमै समस्या परेको छ,' स्थानीय गुणबहादुर गुमाञ्जुले भने, 'कार्यालय र विद्यालय लाग्ने समयमा बाटो काट्नै सकिन्न, पुलमा रेलिङ हालेको छैन ।' ७० प्रतिशत काम सकाएर ठेकेदार सम्पर्क बाहिर गएको आयोजनाले जनाएको छ । त्यस्तै नेपाल सरकारले गर्नुपर्ने सर्भिस ट्रयाकको काम पनि अलपत्र परेको छ । सडक निर्माण गर्ने ठेकेदारले लापरबाही गर्दा पनि कारबाही गर्न सकेको छैन ।  

कोई टिप्पणी नहीं: