बुधवार, 30 जुलाई 2014

एउटै खोलामा आठ लघु जलविद्युत्

बागलुङ , श्रावण १४ - दुदिलाभाटीका बासिन्दाले नजिकैको गौदीखोलाबाट विद्युत् उत्पादन गरेर गाउँघर झिलिमिली बनाएका छन्। गौदीखोलामा निर्मित ८ वटा लघु जलविद्युत् आयोजनाले यतिखेर गाउँ उज्यालो भएको छ। बिजुली पाएपछि गाउँले उद्यमी बनेका छन्। गाउँको मध्यभागबाट बगेको खोलाबाट दर्जनभन्दा बढी सिँचाइ कुलोमार्फत खेतीपाती गरिँदै आएको छ। विद्युत् र सिँचाइले गाउँ तरकारी र अन्नमा समेत आत्मनिर्भर बनेको गौदीखोला लघु जलविद्युत् अयोजनाका अध्यक्ष होमबहादुर खड्काले बताए। 'अहिले हाम्रो गाउँका ९ सय ४१ घरमा चौबीसै घन्टा बिजुली छ,' खड्काले भने, 'गाउँमा सिँचाइ सुविधा भएपछि गोलभेडा, काउली, सिमी, बोडीलगायत उत्पादन बाहिर जान हुन थालेको छ।' सबै प्रकारका अन्न र तरकारी भित्राउने गाउँमा एकाएक आएको परिवर्तनले गाउँले निकै खुसी छन्। जिविसको ऊर्जा विकास शाखा र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट सहयोग जुटेपछि बिजुली बलेको हो। पहिलो पटक भाटी बजारमा निकालिएको २४ किलोवाट क्षमताको विद्युत्ले दुई सय घरमा विद्युत् बलेपछि गाउँलेले गाविसलाई उज्यालो बनाउने अभियान पूरा गरेको स्थानीय नेत्र बुढाथोकीले बताए। '२०५८ मा पहिलोपटक बिजुली बलेपछि गौदीखोला दोस्रो २१ किलोवाटले वडा ८, ५ र ४ का अधिकांश स्थानमा विद्युतीकरण गरियो,' बुढाथोकीले भने, 'अहिले गौदीखोलाको विद्युतीकरणले हजारौं रोपनी जमिन सिञ्चित भएको छ।' उनीहरूले भाटी बजारमै तेस्रोमा १७ किलोवाट, चौथोमा १६ किलोवाट, पाँचौंमा ९ किलोवाट, छैठौं चमेरेघाटमा १९ किलोवाट, सातौं र आठौं उपल्लो भैंसेमा ५ र ३ किलोवाट क्षमताका विद्युत् उत्पादन गरेका हुन्।

कोई टिप्पणी नहीं: