बुधवार, 30 जुलाई 2014

एक प्याकेट चाउचाउको ५० रूपैयाँ !

हुम्ला, १३ साउन । नेपाल खाद्य संस्थान हुम्लाले तोकिएको कोटाअनुसार जिल्लामा खाद्यान्न ढुवानी गर्न नसक्दा खाद्य सङ्कट भएको छ । यस वर्ष जिल्लामा कोटाअनुसार छुट्टयाइएको ३ सय क्विन्टल चामल ढुवानी हुन नसक्दा जिल्लामा खाद्यान्न अभाव भएको हो । यता खाद्य संस्थान हुम्लाले भने वर्षायाम सुरु भएको र मौसम खराब भएपछि बाँकी खाद्यान्न ढुवानीमा समस्या भएकाले जिल्लामा खाद्यान्नको अभाव भएको जनाएको छ । जिल्लामा गत असार २८ गतेदेखि कुनै पनि उडान हुन नसकेकामा आज तारा एयरले दुईवटा उडान भरेको छ । त्यसमा दैनिक उपभोग्य सामग्री ढुवानी गरिएको जनाइएको छ । जिल्लामा खाद्यान्न अभाव भएपछि दैनिक उपभोग्य सामग्रीको समेत मूल्य आकासिएको छ । अहिले जिल्लामा व्यापारीले प्रतिप्याकेट चाउचाउको ५० रुपैयाँ सम्म लिने गरेका छन् । यसैबीच, जिल्लामा एक सातादेखि विद्युत सेवासमेत अवरुद्ध भएको छ । जिल्लामा रहेको सिमिकोट-हिल्दुङ साना जलविद्युत् आयोजनाको पाइप फुट्दा जिल्लामा विद्युत् अबरुद्ध भएको हो । आयोजनाको मर्मत कार्य चलिरहेकाले अबरुद्ध विद्युत् सेवा सुचारु गर्न अझै एक साता लाग्ने जनाइएको छ ।  

कोई टिप्पणी नहीं: