बुधवार, 30 जुलाई 2014

कटुवा पेस्तोलसहित ३ युवा पक्राउ

तनहुँ, साउन १४ - कटुवा पेस्तोलको खरिद विक्री गर्न लागेका ३ युवालाई मंगलबार तनहुँको आँबुखैरेनीमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा जिल्ला बैगडाबड–९, लालगणका २३ वर्षीय गणेश श्रेष्ठ, २० वर्षीय राजु लामा र २१ वर्षीय दिपक बराल रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
तनहुँ आँबुखैरेनीको सत्रसय स्थित गाउँबेशी कृषि अनुसन्धान केन्द्रमा मिस्त्री काम गर्दै आएका गाउँकै दिपक बराललाई १२ हजारमा कटुवा पेस्तोल बिक्री गर्न गणेश र राजुले धनुषाबाट पेस्तोल र गोली लिएर आएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक श्याम ओलियाले बताउनुभयो । शंकास्पद अवस्थामा सडकमा हिडिरहेका युवालाई प्रहरी गस्तीले खोजतलास गर्दा उनीहरुको साथबाट पेस्तोल र २ थान गोली बरामद भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कोई टिप्पणी नहीं: