मंगलवार, 29 जुलाई 2014

अनुगमन टोली नै घुस लिँदै

ललितपुर, श्रावण १३ - राष्ट्रिय उपभोक्ता मञ्चका उपाध्यक्षलाई पनि निलम्बन गर्न निर्देशन - घटनाको फाइल अख्तियारले हेर्ने वाणिज्य तथा आपूर्ति व्यवस्थापन मन्त्रालयले अनुगमनका क्रममा घूस लिने ललितपुरका बजार संरक्षण अधिकृत रामप्रसाद ज्ञवालीलाई निलम्बन गर्न निर्देशन दिएको छ।
curruption'अनुगमन टोली नै घूस लिँदै' समाचार प्रकाशित भएपछि मन्त्रालयले संलग्न कर्मचारीलाई निलम्बन गर्न निर्देशन दिएको हो। 'गलत काम गर्न कर्मचारीलाई कारबाही हुन्छ,' वाणिज्य राज्यमन्त्री गिरीबहादुर केसीले कान्तिपुरसँग भने, 'घूस लिएर अनुगमन फितलो पार्ने ज्ञवालीलाई निलम्बन गर्न निर्देशन दिइसकेको छु।' उनले अनुगमनको नाममा कर्मचारीबाट विभागको बद्नामी भएको गुनासोसमेत गरे। यसअघि वाणिज्य विभागले ज्ञावालीसँग बयान लिएको थियो। विभागका महानिर्देशक नारायण बिडारीले ज्ञवालीबाट बयान लिई आवश्यक कारबाहीका लागि ललितपुर जिल्ला प्रशासनलाई जिम्मा दिएको बताए। अनुगमन टोलीको नेतृत्व जिल्ला प्रशासनबाट भएको र ज्ञवालीले विभागको हैसियतले जिल्लाको प्रतिनिधत्व मात्र गरेकाले अनुसन्धान र कारबाही त्यहीँबाट हुने बिडारीले जानकारी दिए। 'त्यसपछि दोषी ठहर भए थप कारबाही हुन्छ,' बिडारीले भने। यता प्रशासनले भने अहिलेसम्म कुनै कारबाही प्रक्रिया अघि बढाएको छैन। आलटाल गरिरहेको कर्मचारी स्रोतले जानकारी दियो। प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठले सहायक प्रजिअको नेतृत्वमा छानबिन भइरहेको टेलिफोनमार्फत जानकारी दिए। उनले थप प्रतिक्रिया दिन चाहेनन्।
यस्तै अनुगमनमा सहभागी राष्ट्रिय उपभोक्ता मञ्चका उपाध्यक्ष बाबुराजा महर्जनलाई पनि निलम्बन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको राज्यमन्त्री केसीले जानकारी दिए। स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस विषयमा चासो देखाएको छ। घटनाको विवरण माग्ने तयारी भएको आयोग स्रोतले जनायो। केही दिनअघि विभागअन्तर्गतको जिल्लास्थित बजार संरक्षण अधिकृत ज्ञवालीको संयोजकत्वमा एक टोली अनुगमनमा गएको थियो। टोलीमा प्रशासन, उद्योग वाणिज्य संघ, उपभोक्ताका प्रतिनिधि सम्मिलित थिए। टोलीले पाँच पसलमा अनुगमन गरे पनि मंगलबजारस्थित वेयर हाउसमा कैफियत भेटेपछि मोटो रकम लिएर घटना लुकाउन खोजेको थियो।
कैफियत भेटेपछि वेयर हाउसका सञ्चालक सुरज श्रेष्ठले मञ्चका उपाध्यक्ष महर्जनको सहयोगमा कान्तिपुरकर्मीलाई कुनातिर बोलाएर समाचार नलेखिदिन आग्रह गरेका थिए। अनुगमन गरेर र्फकंदै गर्दा ज्ञवालीले टोलिफोनमार्फत समाचार रोकिदिन आग्रह गरेका थिए। महर्जनले पठाइदिएको पैसा भन्दै ज्ञवालीले एउटा खाम कान्तिपुरकर्मीलाई समेत दिन खोजेका थिए।

कोई टिप्पणी नहीं: