बुधवार, 30 जुलाई 2014

दलहरुले जबर्जस्ती चन्दा नलिने

भोजपुर, साउन १४ - जिल्लाका राजनीतिक दलहरुले जबर्जस्ती चन्दा असुल नगर्ने प्रतिवद्धता गरेका छन् ।
जिल्लामा क्रियाशील राजनीतिक दलको मंगलबार भएको संयुक्त बैठकले पार्टी र मातहतका जनवर्गीय संगठनको जिल्ला भेला वा राष्ट्रिय सम्मेलनमा स्वेच्छिक सहयोग बाहेक जबर्जस्ती चन्दा नलिने निर्णय गरेको हो । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी र नेकपा माओवादीको जिल्ला नेतृत्वको संयुक्त हस्ताक्षरमा जारी प्रेस विज्ञप्तीमा पार्टी कार्यकर्ताले कुनैपनि अवस्थामा जबर्जस्ती चन्दा मागेमा प्रमाणसहित उजुरी गर्न आग्रह गरिएको छ ।
यसै महिनादेखि शुरु भएको भ्रष्टाचार तथा विकृति विसंगतिको अन्त्यका लागि सर्वदलीय अभियानले साउनको अन्तिमसम्ममा एउटा निचोड निकाल्ने एकीकृत नेकपा माओवादीका अध्यक्ष सुदन किराँतीले जानकारी दिनुभयो । जिल्लाको समग्र विकासको लागि सबै दल एक ढिक्का भएर लाग्ने भन्दै दलहरुले विकास निर्माणको काम तथा सरकारी कार्यालयमा हुने अनियमितताको पर्दाफास गर्ने समेत बताएका छन् ।
कुनै पनि अनियमिततामा पार्टीका नेता कार्यकर्ताको संलग्नता पाइएमा कारबाही गरिने नेपाली कांग्रेसका कार्यबाहक सभापति कैलाशकुमार आलेले बताउनुभयो । भ्रष्टचारको विरोधमा सबै सरोकारवालालाई सचेत गराइएको भन्दै कसैले आफूहरुको अभियानलाई बेवास्ता गरेमा अनियमितताको सार्वजनिक गरिने संघीय समाजवादी पार्टीका रामसिं राईले बताउनुभयो ।
राजनीतिक दलहरुले हिले-भोजपुर सडकको श्यामसिलाबाट भोजपुर खण्डको ग्राभेल, भोजपुर घोडेटार सडक र चखेवा-रानिटारसडकमा भएको अनियमितताको अध्ययन गरिरहेको र चाँडै निष्कर्षमा पुगिने नेकपा एमालेका सचिव शरणकुमार राईले बताउनुभयो ।

कोई टिप्पणी नहीं: