शुक्रवार, 25 जुलाई 2014

रुपन्देहीमा नगारिकता भन्दा राहदानी लिने धेरै

नागरिकता लिने २७ हजार, राहदानी लिने ३६ हजार
सलमान खान ९ साउन, भैरहवा । सरकारले देशमै रोजगारी दिने नीति लिएको बताइरहँदा पश्चिम तराईको जिल्ला रुपन्देहीमा नागरिकता बनाउने भन्दा राहदानी बनाउने युवा धेरै भेटिएका छन् । देशमै रोजगारी नपाएपछि रोजगारीका लागि विदेशिने युवाको संख्या बढेको हो ।
Passport_nepalजिल्ला प्रशसान कार्यालय रुपन्देहीमा नागरिकता बनाउने भन्दा राहदानी बनाउने धेरै छन् । गत आर्थिक वर्ष ०७०।७१ रुपन्देहीवासीले नागरिकता भन्दा बढी राहदानी बनाएको जिल्ला प्रशसान कार्यालय रुपन्देहीका सूचना अधिकृत अर्जुनबहादुर थापाले बताए ।
जिल्ला प्रशासन र इलाका प्रशासन बुटवलको द्रूत सिफारिस लिई १४ हजार ८ सय २९ जना रुपन्देहीवासीले पराष्ट्र मन्त्रालयबाट राहदानी निकालेका छन् । त्यसैगरी इप्रका बुटवल र जिप्रका रुपन्देहीबाटै करिब २ महिना कुरेर २१ हजार ५ सय ३ जनाले राहदानी निकालेको सूचना अधिकृत थापाले बताए ।
एकै वर्षमा ३६ हजार ३ सय ३२ जना रुपन्देहीबासीले राहदानी निकलेका हुन् । ‘अघिल्लो वर्ष रुपन्देहीमा नागरिकता निकाल्ने भन्दा राहदानी बनाउने धरै भए’, सूचना अधिकृत थापाले भने, ‘राहदानी बनाउने अधिकांश वैदेशिक रोजगारीका लागि खाडी र मलेसिया जान चहानेहरु छन् ।’ अघिल्लो आवमै जिल्ला प्रशसान कार्यालय रुपन्देही, इलाका प्रशसान कार्यालय बुटवल र इलाका प्रशसान कार्यालय मझगाँवाबाट २७ हजार २ सय ४० जनाले मात्र नागरिकता लिए । जुन संख्या राहदानी निकाल्नेको भन्दा ९ हजार ९२ जनाले थोरै हो ।
भारतसँगको खुल्ला सीमानाका वैदशिक रोजगारीमा जानेको तथ्याङ्क सरकारले व्यवस्थित गर्न सकेको छैन । रुपन्देहीमा राहदानी बनाउनेहरु मुलकको ठूलो नाका बीरगञ्ज, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, कपिलवस्तु र नवलपरासीसहितका नाकाहरुबाट भारत हुँदै अवैधरुपमा अन्य देश जाने गरेकाले एकीन तथ्यांक राख्न असम्भव भएको हो ।

कोई टिप्पणी नहीं: