शुक्रवार, 22 अगस्त 2014

सीमा नाकामा इबोला हेल्थ डेस्क अझै स्थापना भएन !

६ भदौ, रुपन्देही । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले इबोला भाइरसविरुद्ध आपत्कालीन अवस्था घोषण गरेलगत्तै नेपाल भित्रिने व्यक्तिको निगरानीका लागि सरकारले सीमा क्षेत्रमा स्वास्थ्य जाँचको व्यवस्था मिलाउने घोषणा गरे पनि रुपन्देहीको सीमा नाकामा भने अहिलेसम्म पनि हेल्थ डेस्क स्थापना गरिएको छैन। डब्लुएचओले भाइरसविरुद्ध आपत्कालीन घोषणा गरेलगत्तै सरकारले त्रिभुवन विमानस्थलसहित मुलुकको भारतसँग जोडिएका सीमा नाकामा हेल्थ डेस्क राख्ने घोषणा गरेको थियो । तर सरकारले गरेको घोषणा अहिलेसम्म कागजमा मात्रै सीमित रहेको छ । जिल्ला जनस्वास्थय कार्यालय रुपन्देहीले एक-दुई दिनभित्र सीमा नाका वेलहियामा हेल्थ डेस्क स्थापना गर्ने बताएको छ । स्थलमार्ग हुँदै सबैभन्दा पर्यटक भित्रिने नेपालकै ठूलो नाका रुपन्देहीको बेलहिया नाकाबाट स्वास्थ्य परीक्षण नगरी आम मानिस निर्बाध नेपाल आइरहेका छन् । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लम्बिनी भ्रमण गर्न अफ्रिकी मुलुक मात्र हैन विश्वकै करिब प्रत्येक मुलुकबाट यो नाकाले अत्यधिक पर्यटक भित्रिने गर्दछन् । यसरी कुनै स्वास्थ्य जाँचबिना पर्यटक नेपाल भित्रिँदा रुपन्देही मात्र हैन नेपाल नै इबोला रोगको उच्च जोखिममा पर्न सक्ने खतरा बढेको छ । स्वास्थ्य, अर्थ, पर्यटन, गृह, परराष्ट्रलगायत विश्व स्वास्थ्य सङ्गठनको गत साउन २८ गते सम्पन्न बैठकले भाइरस मुलुकमा प्रवेश गर्न नदिनका लागि त्रिभुवन विमानस्थल र सीमा क्षेत्रमा विशेष निगरानी राख्ने निर्णय भए पनि सीमा क्षेत्रमा यसको कुनै सुरसार छैन । रासस

कोई टिप्पणी नहीं: