गुरुवार, 21 अगस्त 2014

बालुवाटारमा ओली किन खनिए कोइरालामाथि ?

कमजोरी सुधार्छु, तर राष्ट्रपतिबारे नबोल्नुसः कोइराला
५ भदौ, काठमाडौं । संसदबाट राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुमोदन गर्नुपर्ने अडान त्यागेर संविधान निर्माणको काममा केन्दि्रत हुन प्रधानमन्त्री सुशील कोइरालाले सत्ता साझेदार एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् । विहीवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष ओलीलाई सरकार सन्चालनमा भएका कमजोरी सच्याउन आफू तयार रहेको भन्दै कोइरालाले राष्ट्रपतिको प्रसङ्ग छाडिदिन आग्रह गरेका हुन् । दुई नेताबीच भएको छलफलमा दुवै दलका अन्य नेता सहभागी थिएनन् । ओलीले सात बुँदे सहमतिमा राष्ट्रपति अनुमोदनको विषयमा आफैंले गरेको हस्ताक्षर नभूल्न कोइरालालाई सुम्झाएको ओली निकट स्रोतले जनाएको छ । ओलीले सरकार सन्चालन सुष्त भएको, एमालेले सम्हालेका मन्त्रालयमा काम हुन नदिइएको, राजदूत नियुक्तिमा प्रधानमन्त्रीले नै अवरोध गरेको जस्ता गुनासा राखेको स्रोतले जनाएको छ । ओलीले अहिलेकै अवस्थाबाट सत्ता सहकार्य अघि बढ्न नसक्ने भन्दै कडा ढंगले प्रस्तुत भएको उनी निकट स्रोतले बतायो । ‘एमालेका मन्त्रीहरुको पछाडि कांग्रेसका मन्त्रलाई सुराकीको रुपमा खटाइएको छ, यसरी चल्दैन’ ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो । प्रधानमन्त्रीले सरकार सन्चालनमा उत्पन्न असमझदारी हटाएर एमालेसँग मिलेर काम गर्न आफू तयार रहेको बताएका थिए । उनले राष्ट्रपति अनुमोदनको कुराले संविधान निर्माण प्रभावित हुने बताएका थिए । दुई नेताबीच राजदूत नियुक्ति, २६ सभासद मनोनयन लगायत संविधान निर्माणमा साझा धारणा बनाउने बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ । 

कोई टिप्पणी नहीं: