बुधवार, 17 सितंबर 2014

नेपाल–भारत सांसद सम्मेलन काठमाडौंमा

सीमावर्ती क्षेत्रको समस्याबारे छलफल
काठमाडौ, आश्विन १ - नेपाल–भारत सीमावर्ती क्षेत्रका नेताहरुले सीमाका वासिन्दाबीचको सम्बन्धले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुर्याएको बताएका छन् । काठमाडौंमा जारी सीमावर्तीे सांसद सम्मेलनमा सीमा क्षेत्रका विभिन्न खाले समस्या र त्यसले पार्ने प्रभाव बारे चर्चा गरिएको छ । सम्मेलनको बुधबार उद्‌घाटन गर्दै उपराष्ट्रपति परमानन्द झाले नेपाल–भारतको सम्बन्ध दुई राष्ट्र स्तरभन्दा पनि पृथक र अदभूत रहेको चर्चा गरे ।
उनले मानवीय सभ्यता र धार्मिक ग्रन्थहरुको उत्पतिसँगै सम्बन्धको सुरुवात भएको बताए ।पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सदियौंदेखि दुई देशबीच कायम धार्मिक,सांस्कृति र पारिवारिक सम्बन्धसँगै अब आर्थिक सम्बन्धलाई थप उचाई दिनुपर्ने धारणा राखे । भारतको प्रगतीबाट नेपालले आर्थिक लाभ उठाउन सक्नुपर्ने भन्दै उनले चीन र भारतबीच नेपालले सेतुको काम गर्न सक्ने बताए । उनले सीमा क्षेत्रका जनताबीचको सम्बन्धले दुई राष्ट्रबीचको सम्बन्ध निर्धारणमा बल पुर्याउने उल्लेख गरे । दुई देशको सरकारबीचको सम्बन्धमा केही तलमाथि भए त्यसलाई सुधार्न सीमा क्षेत्रका सांसदहरुले ठूला भूमिका खेल्न सक्ने उनको कथन थियो । कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका नेता महन्थ ठाकुरले सीमा क्षेत्रका दुवै तर्फका वासिन्दाले कतिपय समान किसिमका चुनौतिहरुको सामना गर्नु परिरहेको चर्चा गरे । उनले खुला सीमालाई अवसरको रुपमा प्रयोग गर्न सक्नुपर्ने बताए ।
भारतीय राजदूत रञ्जित रायले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सीमा क्षेत्रको वासिन्दाको योगदान महत्वपूर्ण रहेको भने । उनले आर्थिक प्रगतिका लागि नेपालसँग मिलेर काम गर्न भारत तयार रहेको जनाए । भारत सरकारको सहयोगमा नेपालमा सुरु भएका परियोजनाहरुको काम छिटो होस भन्ने तर्फ आफ्नो ध्यान केन्द्रित रहेका उनले बताए ।
कार्यक्रममा सीमापारीका दद्दन मिश्र, पंकज चौधरी, अजयकुमार निषाद, अच्युतानन्द मिश्र लगायत विहार, झारखण्ड, उत्तराखण्ड, उत्तरप्रदेश र बंगालका ८ जना सांसदहरुको सहभागिता रहेको छ ।  भारतीय सांसदहरुले पनि दुई देशबीचको विशषे सम्बन्ध र सीमावर्ती क्षेत्रको समस्याहरुबारे चर्चा गरेका थिए ।

मधेशी पत्रकार संघ र मिडिया फोर वोर्डर हारमोनीले आयोजना गरेको कार्यक्रममा सीमावर्ती क्षेत्रका सांसदहरुबीच थप छलफल र अन्तक्रिया राखिएको संघका अध्यक्ष विवेकानन्द मिश्रले बताए ।
भोलिसम्म चल्ने कार्यक्रममा सीमावर्ती क्षेत्रका समस्याको पहिचना र तिनका समाधानका साथै विकासका मुद्दामा सांसदहरुबीच छलफल हुने जनाइएको छ।

कोई टिप्पणी नहीं: