सोमवार, 20 अक्तूबर 2014

१२ वर्षमा पनि पूरा भएन खानेपानी योजना

३ कात्तिक, झापा । झापा जिल्लाकै सबैभन्दा ठूलो खानेपानी योजना एक दशकभन्दा बढी समय बिते पनि अझैसम्म पूरा हुन सकेको छैन । दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने उद्देश्यले निर्माण सुरु भएको महारानीझोडा गाविसको खानेपानी योजना १२ वर्षसम्म पूरा हुन सकेको छैन । महारानीझोडा-३ स्कुलचौनस्थित निर्माणाधीन खानेपानी योजना समयमै पूरा हुन नसकेपछि स्थानीय बासिन्दा शुद्ध पिउने पानी उपभोग गर्नबाट वञ्चित भएका छन् । एउटै योजनाले गाविसका धेरैजसो बासिन्दालाई सुविधा दिने उद्देश्यले २०५९ साउनदेखि निर्माण सुरु गरिएको थियो । चार लाख ५० हजार लिटर क्षमता भएको पानी टयाङ्की निर्माण गरिने लक्ष्य योजनाको छ । रु एक करोड ३३ लाखमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजनाको ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ । विभिन्न चरणमा गरेर हालसम्म रु एक करोड तीन लाख  खर्च भइसकेको उक्त खानेपानी योजनाका अध्यक्ष जगन्नाथ खनालले जानकारी दिए ।
योजनाको लक्ष्यअनुसार ३० लाख मात्र बाँकी रहँदा योजनाको ६० प्रतिशत काम बाँकी रहेको छ । समय बढ्दै गएपछि योजनाको लागतसमेत पाँच गुणाले बढेर गएको अध्यक्ष खनालले बताए ।सो योजनाको शिमराम कन्स्ट्रक्सन प्रालिले पाँच वर्षदेखि निर्माणको जिम्मा पाएको हो । पछिल्लो टयाङ्की निर्माण गर्न मात्र रु एक करोड ५३ लाख बजेट विनियोजन भएको छ । प्रालिका प्रबन्धक शिवराम सापकोटा वर्षौंदेखि सम्पर्कविहीन भएको अध्यक्ष खनालले बताए । योजनाबाट महारानीझोडा गाविस वडा नं. १, ३, २, ५, ४, ६, ८ र ९ वडाका हजारौँ सर्वसाधारणलाई सेवा पुर्‍याउने लक्ष्य रहेको छ । स्थानीय फडिन्द्र दाहालले समयमै योजना नसक्दा शुद्ध खानेपानी पाउने आशामा रहेका स्थानीय प्रभावित हुनु परेको गुनासो गरे । दाहालले भने-‘समयमै योजना पूरा गर्न सम्बद्ध पक्षको ध्यान जानुपर्छ ।’ रासस  

कोई टिप्पणी नहीं: