मंगलवार, 21 अक्तूबर 2014

तराईमा तीन प्रदेश बनाउन सत्तारुढ मधेशी सभासदको लबिङ

भोजपूरा-सिम्रौनगढ, विराट-मिथिला र अवध-लुम्विनीको प्रस्ताव 
४ कात्तिक, काठमाडौं । शीर्ष नेताहरु गोकर्ण रिसोर्टमा राज्य पुनसंरचनाका बारेमा निणर्ायक वार्तामा रहेकाबेला तराई मधेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस-एमाले सभासदहरु भने तराइमा कम्तिमा तीन प्रदेश हुनुपर्ने भन्दै लबिङमा उत्रिएका छन् । कांग्रेस एमालेका मधेशी सभासदहरुले सर्लाही पूर्व एक प्रदेश, सर्लाही पश्चिम नवलपरासीसम्म अर्को प्रदेश र नवलपरासी पश्चिम तराईलाई अलग प्रदेश बनाउनुपर्ने भन्दै छलफल चलाएका हुन् । मधेशवादी दलहरुले समग्र मधेशलाई एक प्रदेश बनाउनुपर्ने माग गरिरहेका बेला कांग्रेस-एमालेका मधेशी सभासदहरुको यो अभियानलाई एमाओवादी लगायत अन्य दलका मधेशी सभासदले समेत भित्रभित्रै साथ दिएको दावी उनीहरुले गरेका छन् ।
pradesh ‘अहिले हामीले अनौपचारिक छलफल गरिरहेका छौं, एमाओवादी लगायत अन्य दलका मधेशी साथीहरुको पनि समर्थन पाएका छौं,’ एमाले केन्द्रीय सदस्य तथा सभासद नागेन्द्र चौधरीले अनलाइनखबरसंग भने । तराई मधेशलाई विराट मिथिला प्रदेश, भोजपूरा सिम्रौनगढ प्रदेश र अवध लुम्विनी प्रदेश नामाकरण गर्न समेत उनीहरुले पार्टी नेतृत्वलाई सुझाएका छन् । भोजपूरा सिम्रौनगढ प्रदेशका पक्षधर कांग्रेस एमाले सभासदहरुले यसबीचमा दुई चरण भेलासमेत गरिसकेका छन् । भेलामा रौतहट, पर्सा, बाराका सभासदहरु सहभागी भएका थिए । भोजपूरी भाषी जिल्लालाई मिथिला वा अन्य प्रदेशमा गाभिए मान्य नहुने कांग्रेस सभासद तथा केन्द्रीय सदस्य सुरेन्द्र चौधरीले बताए । भोजपूरी भाषा र सिम्रौनगढ ऐतिहासिक ठाउँ भएकाले सर्लाही पश्चिम नवलपरासीसम्मको भूभागलाई भोजपूरा सिम्रौनगढ प्रदेश बनाउन माग गरिएको एमालेका सभासद बिचारी यादवले बताए । यो अभियानमा ती जिल्लाबाट निर्वाचित मधेशी सभासदमात्र होइन पहाडे मूलका सभासदहरु पनि सहभागी भएका छन् ।
जसमा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, रौतहट ६ का एमाले सभासद रामकुमार भट्टराई समेत सक्रिय छन् । कांग्रेस र एमालेका १८ सभासद्ले नवलपरासीदेखि सर्लाहीसम्मलाई एउटा प्रदेश बनाउनु पर्ने र प्रादेशिक राजधानी वीरगञ्जमा राख्नुपर्ने भन्दै विज्ञप्ति समेत निकालेका छन् । भोजपूरालाई मिथिलातिर लैजाने षडयन्त्र भएको भन्दै उनीहरुले त्यसका विरुद्ध विद्रोह गर्न संघर्ष समिति समेत बनाएका छन् । एमालेको लोकतान्त्रिक मधेशी मोर्चाका अध्यक्ष रघुवीर महासेठले पनि तराईमा पूर्वी,मध्य र पश्चिम गरि तीन प्रदेश हुनुपर्ने धारणा आफूहरुको रहेको बताए ।
विज्ञिप्ति जारी गर्नेमा युवा तथा खेलकुदमन्त्री पुरषोत्तम पौडेल सहित एमाले सभासदहरु रामकुमार भट्टराई, डा.वंशीधर मिश्र, बलबीरप्रसाद चौधरी, जयप्रकाश थारु, जुनैद अन्सारी, रामचन्द्र शाह तेली, जमा आलम, नागेन्द्र चौधरी, राजकुमार गुप्ता, बिचारी यादव छन् । त्यस्तै कांग्रेस सभासदहरु फरमूल्लाह मन्सुर, राजेन्द्रवहादुर अमात्य, राम अयोध्या यादव, मधु शाही ठकुरी, लालबाबु सिंह, राधेचन्द्र यादव,सुरेन्द्रप्रसाद चौधरी छन् । यी जिल्लाबाट प्रायः सबै निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेले जितेका छन् । रौतहटमा २ सिट एमाओवादीले जितेको छ भने फोरम लोकतान्त्रिकले १ सिट जितेको छ । 

कोई टिप्पणी नहीं: