गुरुवार, 23 अक्तूबर 2014

सप्तरीमा प्रहरी र स्थानीयवासीबीच झडप

६ कात्तिक, सप्तरी । सप्तरीको देउरी गाविसमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । देउरी-७ स्थित एक घरमा छापा मारी भन्सार छलेको कपडा प्रहरीले नियन्त्रणमा लिन खोजेको र अवरोध गर्ने स्थानीयवासीबीच झडप भएको हो । सो क्रममा स्थितिलाई नियन्त्रण लिन प्रहरीले तीन राउण्ड आकाशमा गोली चलाएको थियो । देउरी गाविस-७ स्थित सूर्यनारायण साहको घर खानतलासी गर्ने क्रममा प्रहरीमाथि ढुङ्गामुढा भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक छेदीलाल कामतीले जानकारी दिए । घरमा भन्सार छली ल्याएको कपडा भण्डारण गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक कामतीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घर खानतलासी गर्न खोज्दा स्थानीयवासीले अवरोध गरी प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । प्रहरीले स्थानीयवासीलाई सम्झाइबुझाई गर्दासमेत स्थिति सामान्य नभएपछि तीन पटक गोली चलाइएको प्रहरी निरीक्षक कामतीले बताउनुभयो । उक्त घरबाट लुकाई राखेको करिब सात लाख मूल्य बराबरको भन्सार छलेको कपडालगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ । स्थानीयवासीले प्रहार गरेको ढुङ्गा लागेर प्रहरी निरीक्षक कामती, प्रहरी सहायक निरीक्षक रामनारायण यादव र प्रहरी जवान लुरेन्द्र राई सामान्य घाइते भएका छन् । बरामद गरिएको कपडा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ । रासस 

कोई टिप्पणी नहीं: