सोमवार, 20 अक्तूबर 2014

भारतबाट फोन गर्न ३५ प्रतिशत सस्तो

काठमाडौ, कार्तिक ३ - भारतबाट नेपाल फोन गर्दा लाग्ने शुल्क घटेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको अवसरमा गरेको प्रतिबद्धताअनुसार शुल्क कम भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार सरकारी स्वामित्वको भारत सञ्चार निगम लिमिटेड (बीएसएनएल) ले ३५ प्रतिशत शुल्क घटाएको छ । बीएसएनएलले नेपाल फोन गर्दा प्रयोग गर्न १८ भारतीय रुपैयाँ (भारु) को विशेष योजना सार्वजनिक गरेको छ । जसबाट प्रतिमिनेट ६ रुपैयाँ ५० पैसामा कुरा गर्न सकिनेछ । यसअघि सोही कम्पनीबाट नेपाल फोन गर्दा प्रतिमिनेट १० रुपैयाँ भारु पर्थ्यो। भारतीय पत्रिका इकोनोमिक टाइम्सका अनुसार भारतको प्रधानमन्त्री कार्यालयले महँगो शुल्कबारे प्रश्न उठाएपछि बीएसएनएलले घटाएको हो ।
सरकारी स्वामित्वको कम्पनीले शुल्क घटाए पनि निजी क्षेत्रका कम्पनी भारती एयरटेल र भोडाफोनबाट कुरा गर्दा भने प्रतिमिनेट १२ रुपैयाँ शुल्क लाग्नेछ । इकोनोमिक टाइम्सका अनुसार केही समयअघि भारतीय दूरसञ्चार विभागले सेवा प्रदायकसँग छलफल गरेको थियो । जसमा नेपालले भारतीय कम्पनीलाई टर्मिनेसन शुल्क बढी लिने हुँदा फोन गर्दा लिने शुल्क घटाउन नसकेको बताएका थिए ।
बीएसएनएलले भारु ६ रुपैयाँ ५० पैसामा सेवा उपलब्ध गराउँदा प्रतिकल ५० पैसा मात्र फाइदा हुने उल्लेख गरेको छ । कर, टर्मिनेसन शुल्क, स्पेक्ट्रम शुल्कलगायतका कारण नाफा कम हुने उसले बताएको हो ।
नेपाल भ्रमणबाट फर्किएलगत्तै भारतीय प्रधानमन्त्रीले आफ्नो दूरसञ्चार विभागलाई पत्र लेखेको र त्यसपछि निजी क्षेत्रका कम्पनीसँग पहिलो छलफल भएको उल्लेख छ । दोस्रो चरणको छलफल छिट्टै हुने समाचारमा जनाइएको छ ।
नेपालबाट भारत फोन गर्दा लाग्ने शुल्क भने कम छ । २ रुपैयाँ ५९ पैसा प्रतिमिनेटमा भारत फोन गर्न सकिने योजना पनि आएका छन् । भारतले छफलफ गरेजस्तै नेपालमा पनि सेवा प्रदायकसँग सरकारले कुरा भने सुरु गरेको छ । 'घट्न सक्ने अवस्थाबारे छलफल भइरहेको छ,' दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाश न्यौपानेले बताए ।
नेपालबाट भारत फोन गर्दा कम शुल्क लाग्नुको कारण भारतीय कम्पनीले लिने थोरै शुल्क हो । भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार नेपालबाट जाने फोनमा भारतीय कम्पनीले टर्मिनेसन शुल्कबापत करिब ४० पैसा (नेरु ६४ पैसा) लिने गरेका छन् ।
जसअनुसार नेपाली कम्पनीले थोरै शुल्कमा पनि केही नाफा राखेर भारतमा फोन गर्ने सेवा उपलब्ध गराएका छन् । तर नेपाली कम्पनीले भने धेरै शुल्क लिने गरेकाले भारतबाट फोन गर्दा महँगो पर्ने गरेको छ । 'कम्पनीले कति शुल्क लिन्छन् भन्ने यकिन तथ्याकं छैन,' प्राधिकरण स्रोतले भन्यो । अन्तर्राष्ट्रिय कल आउँदा एउटा सेवा प्रदायकले अर्कोलाई उपलब्ध गराउनुपरे साढे ४ देखि साढे ५ रुपैयाँसम्म शुल्क लिने गरेको प्राधिकरण स्रोत बताउँछ ।
टर्मिनेसन शुल्क भनेको एउटा दूरसञ्चार कम्पनीले अर्कोबाट आएको कल आफ्नो नेटवर्कमा प्रवेश गराउँदा लिने रकम हो । यो शुल्क मुख्य रूपमा तीन प्रकारले बुझाउने गरिन्छ । जसमा कल गर्ने नेटवर्कले रकम बुझाउने मोडल भारत र नेपालमा छ । यसका साथै कल पाउने नेटवर्कले रकम बुझाउने र टर्मिनेसनको कुनै शुल्क नलिने पनि व्यवस्था विभिन्न स्थानमा छ ।
भारतीय प्रधानमन्त्री मोदीले संसदमा गरेको सम्बोधनमा अमेरिका फोन गर्नभन्दा नेपालमा गर्न महँगो भएको उल्लेख गरेका थिए । उनले व्यंग्य गर्दै भारतबाट टेलिफोन गर्दा नमस्कार भनेर फोन राख्नुपर्ने अवस्था रहेको बताएका थिए । फोन गर्दा लाग्ने शुल्क घटाउन आफूल पहल गर्ने र त्यस्तै पहल नेपालले पनि गर्नुपर्ने उनले भनेका थिए ।

कोई टिप्पणी नहीं: