सोमवार, 20 अक्तूबर 2014

नेपालबाट पहिलोपटक सार्कमा महिला निर्देशक

ओमान र बहराइनले कार्यबाहक राजदूत पाए
काठमाडौं , कार्तिक ३ - दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापनाको २९ बर्षमा नेपाल सरकारले पहिलोपटक महिला निर्देशक पठाउने भएको छ । न्यूयोर्कमा जारी ६९ औ राष्ट्रसंघीय महासभामा सहभागी रहेकी रिता धिताललाई परराष्ट्र मन्त्रालयले नेपालको तर्फबाट निर्देशकको रुपमा त्यहाँ पठाउने निर्णय लिएको हो । सार्क सचिवालयमा अन्य मुलुकबाट महिला निर्देशक पठाउने कार्य यसअघि नै आरम्भ भएको भए पनि नेपालले भने त्यस्तो थालनी बल्ल आरम्भ गरेको हो । परराष्ट्र मन्त्रालयमा महिला कूटनीतिज्ञ निकै कम रहेको कारण यस्तो अवस्था आएको थियो । मन्त्रालयमा महिला प्रवेशसँगै अहिले यस्तो पोष्टिङ भएको मन्त्रालय उच्चस्रोतले बताए ।
अहिले सार्क सचिवालयमा माल्दिभ्सकी फथिमाथ नज्वा र भारतकी एल साभित्री गरी दुई महिला छन् । यसअलवा श्रीलंकाले पनि महिला निर्देशक पठाउने बताइसकेको छ । यससँगै सार्कको ८ मुलुकका निर्देशकमा आधा संख्या महिलाको हुने भएको छ । सार्क सचिवालयमा एक महासचिव र आठै सदस्य मुलुक नेपाल, भारत, पाकिस्तान, बंगलादेश भुटान, श्रीलंका, माल्दिभ्स र अफागानिस्तानका निर्देशक रहने व्यवस्था छ । महासचिव पनि अहिले नेपालको तर्फबाट पूर्वपरराष्ट्र सचिव अर्जनबहादुर थापा रहेका छन् । यसअघि माल्दिभ्सले पहिलोपटक महिला महासचिव पठाएको थियो । तर उनी आफ्नै मुलुकको राजनीतिक विवादमा परेर फर्काइएपछि बाँकी कार्यभारका लागि अर्का महसचिव आएका थिए ।
हाल सार्क सचिवालयमा नेपालबाट रहेका निर्देशक धनबहादुर ओलीको तीन बर्षे कार्यकाल सकिनै लाग्दा परराष्ट्र मन्त्रालयले यस्तो निर्णय लिएको हो । निर्देशक ओली आगामी अप्रिल पहिलो साता मन्त्रालय र्फकनेछन् । उनको स्थानमा परराष्ट्र मन्त्रालयकी उपसचिव धिताललाई पठाउन उचित हुने भन्दै मन्त्रालयले यस्तो निर्णय लिएको हो । पत्रकारितामा सक्रिय धिताल आठ वर्षअघि अधिकृतको रुपमा परराष्ट्र प्रवेश गरेकी हुन् । उनले ब्रसेल्सस्थित नेपाली दूतावासमा अधिकृतको रुपमा काम गरिसकेकी छन भने हाल राष्ट्रसंघिय महाशाखामा कार्यरत छिन् । । यसअघि उनले दक्षिण एसिया, उत्तर पूर्वी एसिया महाशाखामा पनि काम गरिसकेकी छिन्। पछिल्लो समयम परराष्टमा महिलाहरुको संख्या बढो क्रममा रहेको छ । चार बर्षअघि एकै पटक १४ महिलाको प्रवेशले पनि मन्त्रालयमा उनीहरुको आशालाग्दो उपस्थिती देखिन थालेको छ । मन्त्रालयको इतिहासमा २०४६ पछि पछिल्लोपटक राजदूतमा अम्विकादेवी लुइटेल करिअरबाट सिफारिस परेको अर्को महिना सार्कमा पनि यस्तो निर्णय भएको हो । २०४६ अघि विन्देश्वरी शाह पहिलो महिला राजदूतको रुपमा भारत जाने अवसर पाएकी थिइन । त्यसपछि करिअरभन्दा बाहिरबाट दुई महिला राजदूत भए पनि करिअरमा त्यस्तो उपस्थिती नै हुन सकेको थिएन । अहिले लुइँटेल फ्रन्सको राजदूतमा सिफारिस भएर एग्रिमो प्रक्रियामा छिन् । अर्का सहसचिव सेवा अधिकारी पनि न्यूयोर्कमा नियोग उपप्रमुख रहेर आफ्नो करिअर अघि बढाइरहेकी छिन । अहिलेको अवस्थामा नियमित प्रक्रिया अघि बढे सेवा केही बर्षपछि पहिलो महिला परराष्ट्र सचिव समेत हुनेछिन् ।
परराष्ट्रले सार्कको पोष्टिङ सँगै ओमान र बहराइनमा कार्यबाहक राजदूत पनि नियुक्त गरेको छ । बहराइनका लागि मणी भट्टराई र ओमानका लागि सहप्रवक्ता भरत रेग्मीलाई कार्यबाहक राजदूत बनाएर पठाउन लागेको हो । सरकारले राजदूत नियुक्त गरेर पठाएपछि उनीहरु र्फकनु पर्नेहुन्छ । राजनीतिक भागवण्डा नमिल्दा राजदूत नियुक्त हुन नसकेकोले अहिलेको लागि उनीहरु जान लागेका हुन । बरिष्ठ उपसचिव नै कार्यबाहक भएर जानुपर्ने व्यवस्थाका कारण ओमान र बहराइनमा न्यूयोर्क र दक्षिण अफ्रिकाबाट केही महिनाअघि फर्केका उपसचिव पुनः केही समयको लागि जान पर्ने भएको हो । सरकारले साउदी अरेबियामा उपसचिव आनन्द शर्मालाई पठाउने निर्णय लिएको छ । त्यसैगरी आधा दर्जन अधिकृत र नायव सुब्बाको पनि पोष्टिङ परराष्टले शुक्रबार गरेको सहप्रवक्ता रेग्मीले स्पष्ट पारे ।

कोई टिप्पणी नहीं: