गुरुवार, 27 नवंबर 2014

भारतसँगको नयाँ सम्झौताले नेपाली कामदार खुसी

कञ्चनपुर, मंसिर ११ - प्रधानमन्त्री भएपछि तीन महिनाअघि पहिलोपटक नेपाल भ्रमण आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालीको मन जितेर फर्केका थिए । त्यतिबेला सीमा क्षेत्रका विभिन्न समस्या समाधान गर्नेदेखि टेलिफोनको शुल्क घटाउने र सीमामा आवतजावत गर्दा दुव्र्यवहार हुन नदिनेजस्ता उनका घोषणाले सबैको मन छोएको थियो । सुदूरपश्चिममा त झन् महाकाली नदीमा पक्की पुल निर्माण तथा दार्चुला र बैतडीको सीमा क्षेत्रमा पनि पुल निमर्ाणको पहलसँगै पञ्चेश्वर परियोजना तत्काल सुरु गर्ने भनाइले यहाँका बासिन्दा निकै उत्साहित भएका थिए ।
बुधबारदेखि काठमाडौंमा सुरु भएको १८ औं सार्क शिखर सम्मेलनमा भाग लिन दोस्रोपटक भारतीय प्रधानमन्त्री मोदी नेपाल आएको अवसर पारेर दुवै देशबीच भएका सम्झौताले यहाँका उद्यमी व्यवसायीसँगै भारतमा रोजगारी खोज्दै जाने नेपाली कामदार खुसी भएका छन् । नयाँ सहमतिमा खासगरी विगतमा प्रतिबन्ध गरिएका ५ सय र हजारका भारतीय नोट २५ हजारसम्म बिनारोकतोक ल्याउन पाइने व्यवस्थाले नेपाली कामदारसँगै भारतीय सीमा सहरमा औषधि उपचार र किनमेल गर्न जाने सबैमा खुसी छाएको हो ।
'भारतीय प्रधानमन्त्री मोदी फेरि नेपाल आएका बखत भएका सम्झौता चाँडै लागू भए भारतमा काम गर्ने नेपालीलाई धेरै सहज हुन्छ,' बुधबार भारतको हिमाञ्चलबाट काम गरी घर फर्कदा महेन्द्रनगर बसपार्कमा भेटिएका मुगु, राराका ज्ञानबहादुर शाहीले भने, 'हामीहरू घर र्फकंदा भारतीय रुपैयाँ ल्याउनका लागि सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीले रकम असुल्ने गर्छन् ।' उनले बुधबार पनि भारतीय कस्टममा रहेका सुरक्षाकर्मीलाई पैसा दिएर मात्रै भारु ल्याउन दिएको बताए ।
'टांगा चालकले पनि बनबासाबाट महेन्द्रनगरसम्म ल्याएको २ हजार भारु लियो,' उनले भने, 'पछि प्रहरीलाई गुहारेपछि भाडाबाहेक बढी लिएको पैसा फिर्ता दियो ।'
'भारतबाट घर र्फकंदा ५ सय र हजारका नोट ल्याउन दिने हो भने हामीजस्ता कामदारलाई धेरै सजिलो हुन्छ,' करिब एक दशकदेखि भारतको हरियाणामा काम गर्दै आएका अछाम, सुतारका झपटसिंह ऐडीले भने, 'हामीले मजदुरी गरी कमाएको रकम ल्याउन पनि सीमामा निकै सास्ती बेहोर्नुपर्छ ।' उनले २५ हजारसम्म पनि बिनारोकतोक ल्याउन दिए केही सहज हुने बताए ।
'योसँगै नेपाली कामदारको पैसा बैंकमार्फत पठाउने व्यवस्था गरिदिए अझ राम्रो हुन्थ्यो,' दिल्लीमा काम गर्दै आएका अछामका जयबहादुर बुढाले भने, 'सानोतिनो रकम त बोकेर ल्याउन सकिन्छ तर बढी पैसा भए ल्याउन पनि नमिल्ने, बाटामा लुटिने डर पनि हुने ।' उनले भारतीय बैंकमा नेपाली कामदारको खाता खोलेर सहज रूपमा कमाएको रकम नेपाल पठाउने व्यवस्था गरिदिनुपर्ने बताए । उनले नेपाली कामदारले भारतीय बैंकमा खाता खोल्न नसक्ने भएकाले यसतर्फ पनि ध्यान दिइनुपर्ने बताए ।
'भारतीय प्रधानमन्त्रीको दोस्रो नेपाल भ्रमणका बखत भएका सम्झौताले भारतमा काम गर्ने नेपाली कामदारलाई निकै फाइदा हुन्छ,' कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष गणेशदत्त जोशीले भने, '५ सय र हजारका भारु नोट प्रतिबन्ध हुँदा नेपाली कामदारले निकै सास्ती बेहोरिरहेका थिए ।' उनले ५ सय र हजारका नोट बोकेको बहानामा भारतीय सुरक्षाकर्मीबाटै नेपाली कामदार लुटिने क्रम पनि अन्त्य हुने विश्वास व्यक्त गरे ।
'५ सय र हजारका नोट बोकेर घर र्फकने थुप्रै कामदार भारतीय सुरक्षाकर्मीबाटै लुटिएका छन्,' अध्यक्ष जोशीले भने, 'अब कम्तीमा २५ हजारसम्म पनि बिनारोकतोक ल्याउन दिए त्यो क्रम कम हुने छ ।' सीमा क्षेत्रमा हुने भारुको अवैध कारोबार रोकिने बताए । 'उपचारका लागि भारततिर जाँदा पनि भारु पाउन निकै अप्ठ्यारो छ,' उनले भने, 'सम्झौता कार्यान्वयन भएपछि यो समस्या पनि कम हुन्छ ।'
उसो त गत वर्ष नै दुई देशका वाणिज्य सचिवस्तरीय बैठकमा नेपालमा भारु नोट ल्याउन र उता लैजान पाउने सहमति भइसकेको उद्यमी व्यवसायी बताउँछन् । तर त्यो सहमति कार्यान्वयन हुन सकेको थिएन । भारतले नेपालबाट नक्कली भारु नोट भित्रन सक्ने भन्दै नेपालमा ५ सय र हजारका भारु नोट नेपाल लैजान प्रतिबन्ध गरेको थियो । यहाँ भारुको अभाव हुँदा उपचारदेखि अध्ययन र अन्य विभिन्न कामले भारततिर जाँदा सटहीमा निकै समस्या थियो । नेपालमा भारु प्रतिबन्ध हुँदा सीमा क्षेत्रमा कतिपयले खुलेआम अवैध रूपमा ३ देखि ५ प्रतिशतसम्म कमिसन लिएर सटहीको काम गरिरहेका छन् । 

कोई टिप्पणी नहीं: