बुधवार, 26 नवंबर 2014

मोदीले एमाओवादी, जातिवादी र मधेसवादीको भाषा बोले : मोहनविक्रम

१० मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाओवादी, जातिवादी र मधेसवादी नेताको भाषा बोलेको बरिष्ठ वामपन्थी नेता मोहनविक्रम सिंहले आरोप लगाएका छन् । ‘मोदीले संविधानलाई सङ्ख्याका आधारमा होइन, सहमतिका आधारमा निर्माण गर्नुपर्छ भन्ने जुन विचार प्रकट गरेका छन्, त्यो गलत र अप्रजातान्त्रिक हो,’ नेकपा मसालका महामन्त्रीसमेत रहेका सिंह भन्छन्- ‘मोदीको त्यसप्रकारको सोचाइले अल्पमतमा परेका एमाओवादीको नेतृत्वमा बनेको जातिवादी र मधेसवादी समेतको गठबन्धनको मतलाई प्रतिनिधित्व गर्दछ ।’
mohan-bikram-singh1भारतीय प्रधानमन्त्री मोदीको त्यस प्रकारको सोचाइले लोकतान्त्रिक प्रकारको संविधानको निर्माणमा बाधा हाल्ने सिंहले बताएका छन् । सिंहले भनेका छन्- ‘नेपालमाथि भारतीय विस्तारवादी नीति लगातार नयाँनयाँ रूपमा अगाडि बढिरहेको छ । भारतबाट ठूलो सङ्ख्यामा भारतीयहरू नेपालमा प्रवेश गरिरहेका छन् र नेपाल सरकारका गलत नीतिहरूका कारणले उनीहरूलाई ठूलो पैमानामा नेपालको नागरिकता दिने काम भइरहेको छ । त्यसरी नेपाल सिक्किम बन्ने खतरा बढिरहेको छ।’ नेपालका नदीहरूमा भारतको एकाधिकार कायम हुँदै गइरहेको र मोदी सरकार आएपछि त्यो विस्तारवादी प्रक्रिया तीव्र रूपले बढ्दै गएको सिंहको आरोप छ । माथिल्लो कर्णाली, विद्युत व्यापार सम्झौता, अरूण तेस्रोसम्बन्धी सम्झौता आदि भारतीय हस्तक्षेपका उदाहरण भएको सिंहको आरोप छ ।
‘माथिल्लो कर्णालीको पीडीएलाई दुइतिहाइ बहुमतले अनुमोदन गर्नु नपर्ने सर्वोच्चको फैसलाले नेपालका प्राकृतिक वा जलस्रोतसम्बन्धी राष्ट्रघाती सन्धिहरू गर्नका लागि सरकारालाई ढोका खुला गरिदिएको छ’ सिंहको भनाइ छ, ‘देशभित्र भारतको चौतर्फी हस्तक्षेप बढ्दै गइरहेको छ र सरकारले लगातार भारतपरस्त नीति अपनाउँदै गएको छ ।’ 

प्रदीप ज्ञवाली भन्छन्- कसैले गलत बि्रफिङ गर्‍यो कि ?
फाइल फोटो
फाइल फोटो
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालदीले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कसैले नेपालको राजनीतिक अवस्थाबारे गलत बि्रफिङ गरेको हुन सक्ने आशंका प्रकट गरेका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै नेता ज्ञवालीले भने-‘साउनमा आउँदा भन्दा मोदीको दृष्टिकोणमा केही परिवर्तन भएको देखियो, यसमा नेपालस्थित भारतीय संयन्त्रले गरेको बि्रफिङको प्रभाव होला । या नेपालकै कुनै दलहरुले गलत बि्रफिङ गरे कि ?’
तर, सहमतिमै संविधान बन्नुपर्छ भन्ने मोदीको सदिच्छा गलत नभएको ज्ञवालीले बताए । आफूहरुले सकेसम्म सहमतिमै संविधान बन्नुपर्छ भनेर प्रयास गरिरहेका बेला मोदीले सहमतिको सदिच्छा प्रकट गर्नु आफैंमा गलत नभएको ज्ञवालीको विश्लेषण छ । ‘तर, उहाँले सदिच्छा नै प्रकट गरेको भए पनि यस्तो अभिव्यिक्तिलाई कतिपय दलले गलत व्याख्या गरेर संविधान निर्माणमा बाधा पुर्‍याउने खतरा बढेको ज्ञवालीले अनलाइनखरबलाई बताए ।
‘मोदीको अभिव्यक्तिलाई कतिपय दलले आफ्नो हित अनुकूल प्रयोग गर्ने सम्भावना देखिएको छ,’ ज्ञवालीले भने,- ‘हिजै प्रचण्ड र केही मधेसवादी नेताहरुले तपाईले आसध्यै सही कुरा भन्नुभयो भनेर मोदीलाई धन्यवाद दिएको सुनिएको छ ।’ मुलुकमा अति दक्षिणपन्थी र अति वामपन्थी ध्रुवीरकण चरम भइरहेका बेला मोदीले यो परिस्थितिलाई बुझेको हुनुपर्ने ज्ञवाली बताउँछन् । ‘मोदीले यो परिस्थिति बुझेकै हुनुपर्ने हो,’ एमाले नेता ज्ञवाली भन्छन्- ‘कतिपय विषयमा सहमति हुन सक्ला तर, सबै विषयमा सहमति हुन सकेन भने प्रक्रियामा गएर भए पनि संविधान बनाउनैपर्छ ।’
मोदीलाई ओलीको जवाफ
यसैवीच मंगलबार साँझ सोल्टी होटलमा भारतीय प्रधानमन्त्रीसँग भएको भेटमा एमाले अध्यक्ष केपी ओलीले  सहमसति नभए बहुमतीय प्रक्रियाबाटै संविधान बन्ने मोदीलाई सुझाएका छन् । एमाले स्रोतका अनुसार ओलीले संघीयताका विषयमा पनि पहिचानका नाममा जातीय राज्य बनाउन नदिने मोदीलाई स्पष्ट पारेका थिए । जातीय संघीयताले जातीय र क्षेत्रीय तनाव बढाउने र यसले भारतलाई पनि फाइदा नहुने ओलीले मोदीलाई बताएका थिए । ओली र मोदीसँगको भेटबारे जानकारी दिँदै स्रोतले भन्यो-‘अन्तिममा मोदीले मेरो शुभकामना मात्रै हो, नेपालीले आफैं गर्ने निर्णयलाई भारतले मान्छ भन्ने प्रतिक्रिया दिए ।’ 

कोई टिप्पणी नहीं: