गुरुवार, 27 नवंबर 2014

सुजाता बनिन् नेपाली प्रथम महिला

काठमाडौं, मंसिर ११ - 'प्रथम महिला' को हैसियतमा कांग्रेस नेतृ सुजाता कोइराला बुधबार बिहानैदेखि प्रधानमन्त्री सुशील कोइरालासँगै व्यस्त भइन् । प्रधानमन्त्रीकै गाडीमा उनी सार्क शिखर सम्मेलनस्थल राष्ट्रिय सभागृह पुगिन् । सम्मेलनमा उपस्थित राज्य तथा सरकार प्रमुखको सत्कारमा पनि उनी प्रधानमन्त्रीसँगै सहभागी भइन् ।
Sujataहलमा प्रवेश गर्नुअघि राज्य र सरकार प्रमुखको आराम कक्षमा उनले केहीछिन भलाकुसारी गर्ने अवसर पाइन् । उनले राज्य तथा सरकार प्रमुख र सहभागी 'प्रथम महिला' लाई आफू स्व. गिरिजाप्रसाद कोइरालाकी छोरी तथा पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्रीका रूपमा चिनाएकी थिइन् ।
कांग्रेस परराष्ट्र विभागकी प्रमुखसमेत रहेकी सुजाता प्रधानमन्त्री कोइरालाकी भतिजी हुन् । अविवाहित कोइरालाले सुजातालाई 'प्रथम महिला' को हैसियतमा लैजानुमा उनलाई अन्तर्राष्ट्रिय 'एक्सपोजर' दिलाउनु मुख्य उद्देश्य रहेको कांग्रेस नेताहरूले बताए । यसअघि बाबु गिरिजाप्रसादले पनि उनलाई 'प्रथम महिला' कै हैसियतमा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी गराउँथे ।

सार्कको औपचारिक कार्यक्रम सकिनासाथ प्रधानमन्त्रीकै गाडीमा उनी होटल सोल्टीमा पुगिन् । दुईपक्षीय सबै वार्तामा प्रधानमन्त्रीसँगै सहभागी भइन् । उनका सहयोगीका अनुसार बंगलादेशका प्रधानमन्त्री सेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिनसँगको दुईपक्षीय भेटमा सुजाता सहभागी थिइन् । त्यस्तै अन्य साइडलाइन वार्तामा पनि सुजातालाई प्रधानमन्त्रीले सँगै राखेका थिए । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीसँगको मंगलबार भएको भेटमा पनि सुजाता सँगै थिइन् ।
धुलिखेलमा बिहीबार सार्क राष्ट्र/सरकार प्रमुखहरूको रिटि्रट चलिरहँदा सुजाताले 'प्रथम महिला' हरूलाई विश्व सम्पदा सूचीमा रहेको भक्तपुरको दरबार क्षेत्र घुमाउने कार्यक्रम छ । त्यस्तै 'प्रथम महिला' हरूको अन्य चाहना र रुचि पूरा गर्न पनि उनले सहजकर्ताको काम गरेकी छन् । 'अन्तर्राष्ट्रिय एक्सपोजर दिनका लागि सुजातालाई प्रथम महिलाका रूपमा प्रधानमन्त्रीले राख्नुभएको हो,' कांग्रेसका एक नेताले भने, 'नत्र अविवाहित प्रधानमन्त्रीले प्रथम महिला राख्नुपर्ने अवस्था थिएन ।'

कोई टिप्पणी नहीं: