बुधवार, 26 नवंबर 2014

चीनद्वारा मितेरी सम्बन्ध कायम गर्न प्रस्ताव

तातोपानी, मंसिर १० - चीनले सिन्धुपाल्चोक र तिब्बतको नेलाम जिल्लाबीच मितेरी सम्बन्ध कायम गर्न नेपाललाई प्रस्ताव गरेको छ। उसले सीमा क्षेत्रको विकासका लागि आवश्यकता पहिचान गरी प्रस्ताव गर्न आग्रह गरेको छ। दुवै मुलुकका सीमा अधिकारीबीच तातोपानीमा भएको सीमा क्षेत्रको सुरक्षा बैठकमा चीनले विकास, सांस्कृतिक तथा व्यापारिक सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजाने भन्दै नेलामका प्रशासन प्रमुख फेङ लु विईले उक्त प्रस्ताव गरेका हुन्।
chinaबैठकमा फेङले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलाई स्थानीय विकास तथा व्यापारिक कार्यक्रमको योजना प्रस्ताव गर्न भनेका थिए। फेङले सिन्धुपाल्चोकपछि दोलखासँग मितेरी सम्बन्ध कायम गर्न प्रस्ताव गरिने जानकारी गराए। चिनियाँ पक्षले आफूहरू सीमा क्षेत्रको विकासमा सघाउन इच्छुक रहको दोहोर्‍याएका थिए।
चीनको प्रस्ताबारे मन्त्रालय तहमा छलफल भइरहेको जानकारी प्रजिअ पराजुलीले दिए। उनका अनुसार स्थानीय प्रशासनले मितेरी सम्बन्ध कायम गर्न आवश्यक सुझावसहितको पत्र माथिल्लो निकायमा पठाइसकेको छ। नेलाम प्रशासनका अधिकारीहरूले सीमा सुरक्षा कार्यक्रम तय गरेर खासा र तातोपानी प्रहरीबीच प्रत्यक्ष संवादको वातावरण बनाउन जोड दिएका थिए।
उनीहरूले सीमा क्षेत्रको क्वारेन्टाइन, सुरक्षा, स्थानीय विकास, व्यापार र चोरी पैठारी नियन्त्रणमा नेपाल पक्षबाट भएका कमजोरी औंल्याएका थिए। प्रशासक फेङले नेपालले प्रस्ताव गरे आफू स्थानीय विकास र सुरक्षा क्षेत्रमा सघाउन तयार रहेको बताए। वाषिर्क १ लाख २३ हजार चिनियाँ पर्यटक नेपाल भित्रने गरेको तथ्यांक पेस गर्दै फेङले उनीहरूको भ्रमण सहज बनाउन आफूहरूले सूचना प्रवाहलाई प्राथमिकता दिएको बताए।
नेपालका तर्फबाट प्रजिअ पराजुलीले सीमा क्षेत्र तातोपानीबाट हुने व्यापारिक समस्यालाई न्यूनीकरण गर्न अनुरोध गरेका थिए। नेपालबाट हुने निकासी व्यापार सहज नभएको, कन्टेर प्रवेश सहज नहुँदा करोडौंका सामान खासामा गोदाम गरेर राखेको, सीमा स्तम्भहरू जीर्ण भएकाले दुवै मुलुकले संयुक्त अनुगमनको गर्नुपर्ने अवस्था सिर्जना भएकोलगायत विषय प्रजिअ पराजुलीले राखेका थिए। स्थानीय विकास अधिकारी युवराज कट्टेलले स्थानीय विकासका योजना प्रस्तुत गरिने बताएका थिए। दोलखाका प्रजिअ प्रेमलाल लामिछानेले तिब्बतसँग सीमा जोडिएको लामबगरका स्तम्भहरू कुनै हराएका र कुनै जीर्ण भएकाले मर्मतका लागि आग्रह गरेका थिए। उनले दुवै मुलुकको संयुक्त टोलीले सीमा स्तम्भ अनुगमन गर्न प्रस्ताव गरेका थिए।
नेलाम भन्सारका उपप्रमुख वाङ दु, क्षेत्रीय प्रशासक कयु जीले नेपालको भन्सार प्रशासन, सीमा व्यवस्थापन र क्वारेन्टाइमा देखिएको समस्या प्रस्तुत गरेका थिए। चिनियाँले नेपालको सीमा प्रहरी र खासा प्रहरीबीच स्थानीय तहमा सुरक्षा छलफल नियमति भइरहनुपर्ने तर्क राखेका थिए। फेङको नेतृत्वमा अध्यागमन, क्वारेन्टाइन, वन, प्रहरी, तातोपानी भन्सार, विदेश विभाग तथा पर्यटक क्षेत्रका चिनियाँ अधिकारीको १९ सदस्यीय टोली नेपाल आएको थियो।

कोई टिप्पणी नहीं: