सोमवार, 22 दिसंबर 2014

एक प्रतिशत भाडा घटाउने निर्णय विद्यार्थीलाई अमान्य

राहत महसुस हुने गरी २४ घण्टाभित्र भाडा घटाउन अल्टिमेटम 
७ पुस, काठमाडौं । विद्यार्थी संगठनहरुले सार्बजनिक सवारी साधनको भाडा २४ घण्टा भित्र घटाउन सरकारसँग माग गरेका छन् । सोमबार बसेको सत्ता पक्ष र प्रतिपक्ष दल निकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले २४ घण्टा भित्र भाडा घटाउन अल्टिमेटम दिएको हो । सरकारले एक प्रतिशत मात्रै सार्बजनिक भाडा घटाउने तयारी गरेको भन्दै विद्यार्थीहरुले विरोध समेत गरेका छन् । ‘इन्धनको मूल्य धेरै नै घटिसक्यो तर गाडी भाडा घटेको छैन, एक प्रतिशत मात्रै भाडा घटाउने कुरा हामी मान्दैनौं,’ नेबिसंघ प्रवक्ता यूपी लामिछानेले अनलाइनखबरसँग भने । एक प्रतिशत मात्रै भाडा घटाउने कुरा न्यायसंगत नहुने भएकाले जनताले राहत महसुस गर्ने गरी भाडा घटाउनु पर्ने र बजारमूल्य समायोजन गर्नुपर्ने विद्यार्थी संघ-संगठनको माग छ । सेमेष्टरको फाराम वितरण रोक्ने विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरुमा पर्याप्त तयारी विना सेमेष्टर प्रणाली लागू गर्न लागेको भन्दै विरोध समेत गरेका छन् । उनीहरुले जबर्जस्ती सेमेष्टर प्रणाली लागू गर्न लागिएको भन्दै फारम वितरणमा अवरोध पुर्‍याउने चेतावनी समेत दिएका छन् । ‘पर्याप्त भौतिक पूर्वाधार विना सेमेष्टर प्रणाली लागू गर्न लागिएकोले त्यसलाई रोक्न टीयूलाई ध्यानाकर्षण गराइसकेका छौं, बेवास्ता गरिए फाराम वितरण नै रोक्छौं,’ नेविसंघ प्रवक्ता लामिछानेले भने । यी माग सुनुवाई नभए आउँदो ९ गते पुनः बैठक बसेर आन्दोलनका कार्यक्रम तय गर्ने बैठकले निर्णय गरेको छ । 

कोई टिप्पणी नहीं: