रविवार, 1 मार्च 2015

के सन्देश दियो विपक्षी मोर्चाको जनसभाले ?

काठमाडौं, फागुन १७ – एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले फागुन १६ गतेका लागि आयोजना गरेको शक्ति प्रदर्शनलाई सत्ता पक्ष र विपक्ष दुवैले निकै नै चासोपूर्वक हेरेका थिए । १६ गतेको प्रदर्शनले राजनीतिको अहिले अघि बढिरहेको कोर्सलाई नै परिवर्तन गरिदिने विश्लेषणका बीच शनिबार एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले धेरै अपेक्षा गरेभन्दा भव्यरुपमा जनप्रदर्शन गरेपछि अब के हुने हो भन्ने आमचासोको विषय बनेको छ । के संकेत गर्यो त विपक्षीहरुको जनप्रदर्शनले ? अब आगामी राजनीतिक कोर्स कता जाला ? यसै सन्दर्भमा हामीले केही सत्तापक्ष र विपक्ष दलका नेताहरु तथा विश्लेषकहरुलाई सोधेका छौं, उनीहरुको भनाईः
commentअर्जुननरसिंह केसी, नेता नेपाली कांग्रेस
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले शनिबार राजधानीमा गरेको प्रदर्शनलाई लोकतान्त्रिक प्रक्रियामा स्वभाविक रुपमा लिनुपर्छ । असहमति भएका विषयहरु जनताको बीचमा लानु लोकतान्त्रिक पद्दती हो र असहमतिका कुरा जनतालाई जनतालाई सुसूचित गराउने सबैभन्दा सुन्दर तरिका नै यही हो । बानेश्वरका घटनाबाहेक भएका अन्य सभा र प्रदर्शनीहरु शान्तिपूर्ण रुपमा हुनु निकै नै सकारात्तमक कुरा हो । अब कांग्रेस–एमालेले वार्ता र संवादमै जोड दिनुपर्छ ।
योगेश भट्टराई, सचिव नेकपा (एमाले)
लोकतान्त्रिक अधिकार प्रयोग गर्नु राम्रो कुरा हो । आफ्ना कुरा जनताका सामु सबैले राख्छन् । तर, अझै पनि सडकमा जानुभन्दा संविधानसभा भित्रै बसेर संविधान बनाउनेतिर लाग्नुपर्छ । प्रचण्ड कमरेडले ‘बल कांग्रेस–एमालेको कोर्टमा छ’ भन्नु भनेको कांग्रेस–एमालेलाई जिम्मेवार दलका रुपमा हेर्नु हो । कांग्रेस–एमालेका नेताहरुले गम्भीर भएर वार्ता र सहमतिबाटै समस्याको समाधान खोज्न अग्रसर हुनुपर्छ ।
 जनार्दन शर्मा (प्रभाकर),स्थायी समिति सदस्य,एमाओवादी 
शनिबारको शक्ति प्रदर्शनले जनता परिवर्तन चाहन्छन्,परिवर्तन स्वीकार नगर्नेहरु बिरुद्द जनता फेरि आन्दोलन गर्न पनि तयार छन् भन्ने प्रष्ट्याएको छ । यसका साथै विगतमा भएका सहमति र समझदारी अनुसारको संविधानप्रति जनता तीव्र मोह छ भन्ने प्रदर्शनले देखाएको छ । जनताको बललाई कसैले कम आँक्नु हुँदैन ।
डा. सुन्दरमणि दिक्षीत,नागरिक समाज अगुवा
पहिलो कुरा शक्ति प्रदर्शन गरेर देखाइदिनेहरुलाई धन्यवाद दिन चाहन्छु । बानेश्वरबाहेक कतै कुनै अप्रिय घटना भएन । यो शक्ति प्रदर्शन जरुरी थियो । पक्कै पनि यो शक्ति प्रदर्शनले सत्ताधारीहरुलाई राम्रै सन्देश दिएको हुनुपर्छ । अब यसलाई उनीहरुले सकारात्मक रुपमा लिन जरुरी छ । सत्ता पक्षले यो बुझ्नुपर्छ कि विपक्षीहरुलाई बाहिर राखेर संविधान बन्नै सक्दैन । र, बने पनि त्यो लागू हुनै सक्दैन । त्यसैले तुरुन्तै विपक्षीहरुसँग वार्ता र संवादमार्फत् संविधान बनाउने काममा लाग्नुपर्छ,त्यसको लागि सत्तापक्षले अबिलम्ब वार्ताको प्रयास गर्नुपर्छ ।
किशोर नेपाल,वरिष्ठ पत्रकार
हिजोको प्रदर्शनले विपक्षी दल तगडा पोजिसनमा छ भन्ने देखाउँछ । सत्तापक्षले संविधान निर्माणमा सहमतिको बाटो खोज्नु कल्याणकारी हुन्छ । योभन्दा अर्को बाटो हुनै सक्दैन ।
देवप्रकाश त्रिपाठी ,वरिष्ठ पत्रकार
हिजोको शक्ति प्रदर्शनले वर्तमान सत्ता प्रयासप्रति असहमति जनाउने जमात धेरै ठूलो छ भन्ने पुष्टि गरेको छ । बललफ्ती संविधान गर्ने प्रयत्नप्रति कांग्रेस–एमाले पनर्विचारशील हुन यसले सचेत गराएको छ । अर्को यो शक्ति प्रदर्शनले प्रचण्डहरु सकिए भन्नेहरुलाई त्यस्तो ठान्नु गलत भएको सूचना पनि दिएको छ ।
जय निसान्त,सामाजिक अभियन्ता
३० दलीय मोर्चासँग जनता छैनन् भन्ने अबमूल्यन गर्नुहुँदैन । जनताको आकार र संख्या समयअनुसार तलमाथि हुनसक्छ, तर मुद्दा स्थायी हुन्छ । सही मुद्दाको सही सम्बोधन गरिएन भने समाजमा उथलपुथल जारी रहन्छ । शनिबारको प्रदर्शनले सबैलाई यही सन्देश र संकेत गरेको छ ।
राजेन्द्र महर्जन,विश्लेषक
विगतमा भएका १२ बुँदे सहमति यताका प्रयासप्रति कांग्रेस–एमालेले गरेको असहमतिप्रति आम मान्छेको चासो बढेको छ । एमाओवादीसहितको शक्ति कमजोर भयो भन्नेहरुलाई यो प्रदर्शनले जवाफ दिएको छ । सहमतिमा संविधान बनेन भने मुलुक फेरि आन्दोलनतर्फ लाग्छ भन्ने खाका पनि आन्दोलनले प्रष्ट देखाइदिएको छ । 

कोई टिप्पणी नहीं: