मंगलवार, 31 मार्च 2015

४२ सय किलोलिटर पेट्रोल भण्डारण गर्ने ट्यांक थपिने !

काठमाडौ, चैत्र १७ - सरकारले थप ४ हजार २ सय किलोलिटर पेट्रोलको भण्डारण ट्यांक विस्तार गर्ने भएको छ । बेलाबेलामा हुने इन्धन अभाव न्यूनीकरण गर्न भण्डारण क्ष्ामता बढाउन लागेको हो । आयल निगमका अनुसार थानकोटमा रहेको मटितेल डिपोलाई इन्धनमा परिणत गरेर भण्डारण क्षमता बढाइन लागेको हो ।
'उपत्यकामा मटितेलको माग न्यून छ । थानकोट डिपोमा २ हजार १ सय किलोलिटरका दुई ट्यांक छन् । त्यसलाई पेट्रोल ट्यांक बनाउने तयारी गरेका छौं,' निगमका प्रवक्ता मुुकुन्द घिमिरेले भने । राजधानीमा मटितेलको मागमा कमी आएकाले ती ट्यांकलाई पेट्रोलमा परिणत गर्ने लागेको उनले जानकारी दिए । यसअघि निगमले ७ सय ६० किलोलिटरको मटितेल ट्यांकलाई पनि पेट्रोल ट्यांक बनाएको थियो ।
अहिले उपत्यकामा २ हजार २ सय किलोलिटर मात्रै भण्डारण गर्ने क्षमता छ । त्यसमा करिब १ हजार ८ सय किलोलिटर मात्रै भण्डारण गर्न मिल्छ । ती भण्डारणबाट जम्मा ४ दिनका लागि पेट्रोल वितरण गर्न सकिन्छ । भण्डारण नहुँदा बन्द हडताल हुँदा उपभोक्ताले दैनिक सास्ती झेल्दै आएका छन् । इन्धनका लागि घण्टौं लाइनमा बसे पनि खरिद गर्न पाएका छैनन् । मुलुकभरि ५ हजार ६ सय किलोलिटर भण्डार गर्ने क्षमता छ । विराटनगर र भैरहवामा पनि भण्डार बढाउन आवश्यक रहेको निगमले जनाएको छ । यी दुई नाका व्यापारी केन्द्र भए पनि भण्डारण गर्ने क्षमता न्यून छ । घिमिरेका अनुसार विराटनगरमा ५ सय ६० किलो लिटर मात्रै भण्डारण छ । यस्तै भैरहवामा पनि १ सय ४० किलोलिटर मात्रै भण्डारण गर्ने क्षमता छ ।

यस्तै उपत्यकामा डिजेलको करिब ८ हजार किलोलिटर भण्डारण क्षमता छ । यो ८ दिनका लागि पुग्छ । मुलुकभरि भने करिब ३० हजारकिलो लिटर क्षमता छ । यसअघि व्यवस्थापिका संसदको उद्याेग वाणिज्य तथा उपभोत्ता हित सम्बन्ध समितिले इन्धनको अभाव हटाउन सरकारले भण्डारणको व्यवस्था गर्न सुझाव दिएको थियो । सभासदहरूले अभाव हुने समयको प्रक्षेपण गरी भण्डारण गर्नुपर्नेमा सुझाव दिएका थिए ।
पेट्रोलबाहेक ग्यासको अभाव समस्या हटाउन २० हजार टन ग्यास भण्डार गर्ने गरेको जनाएको छ । जाडो महिनामा ग्यासको माग बढ्ने र सोही मौकामा केही व्यवसायीले कालोबजारी गरेर चरम अभाव गराउने प्रवृत्ति बढेकाले सरकारले आफैं भण्डारण गर्ने तयारी थालेको छ ।
काठमाडौं र धनुषा जिल्लाको महेन्द्रनगरमा भण्डारण गरिने निगमको योजना छ । यी दुवै ठाउँमा १०/१० हजार टन ग्यास राखिनेछ । दुई ठाउँको भण्डारबाट १४ लाख सिलिन्डर ग्यास (एक टनमा ७० सिलिन्डर ग्यास) भर्न सकिनेछ । भण्डारणका लागि अधितम १० कट्ठा जग्गा भए पुग्छ ।
निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार महेन्द्रनगरमा निगमको आफ्नै ११ बिग्गा जग्गा छ ।
एलपीजी ग्यास उद्योग संघका अनुसार निजी क्षेत्रका व्यवसायीसँग ६ हजार टन भण्डार क्षमता छ । बोटलिङ प्लान्ट र अटो ग्याससहित ५५ कम्पनी छन् ।

कोई टिप्पणी नहीं: