मंगलवार, 21 अप्रैल 2015

चन्द माओवादीद्वारा एमाओवादी र एमाले नेताका घरजग्गा कब्जा

काभ्रेमा १५ सय रोपनी जग्गा कब्जा

चरिकोट, वैशाख ८ - नेकपा माओवादी नेत्रविक्रम चन्द समूहले सिङ्गटीमा एक घर र जग्गा आफ्नो कब्जामा लिएको घोषणा गरेको छ । माओवादी दोलखाले सिङ्गटीस्थित लादुक–८ को पूर्वसांसद एमाओवादी नेता जितवीर लामाको एक कच्ची घर र एमाले नेताले सञ्चालन गर्न लागेको लामिडाँडा–६ को सामुदायिक स्वास्थ्य प्रवद्र्धन केन्द्रको जग्गामा पार्टीको झन्डा गाडी आफ्नो कब्जामा लिएको विज्ञप्तिमार्फत जनाएको छ ।

दोलखाको २० गाविसका जनताको स्वास्थ्य प्रवद्र्धनका लागि २०६१ साउन २८ गते लिएको एक हजार ६९६ वर्गमिटर जग्गामध्ये २०६८ साल साउन ३२ गते संस्थाकै पदाधिकारी एवम् एमाले नेताहरु कुमार खड्का, प्रकाश केसीले एक हजार २०० वर्गमिटर जग्गा आफ्नो नाममा पास गरेकाले कब्जा गरेको माओवादीले उल्लेख गरेको राससले जनाएकाे छ ।

संस्थाको प्रतिनिधि प्रदीप सिवाकोटीलाई बनाए पनि उनले राजीनामा गरेको पाइएको माओवादीका सेक्रेटरी सञ्जीव नेपालीले बताए । जनसमुदायको लगानी रहेको गैरसरकारी संस्थाको जग्गा आफूखुसी आफ्नो नाममा दर्ता गरेकाले संस्थालाई नै जग्गा फिर्ता नगरेसम्म जग्गा पार्टीले कब्जा गर्ने उनले बताए ।

खड्का र केसी दुवै एमाले जिल्लास्तरीय नेता हुन् । १० वर्षअघि जग्गा सस्तोमा खरिद गरे पनि अहिले सिङ्गटीको जग्गा लाखौँ मूल्य पर्छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना नजिकैको, लामिडाँडा र लादुकको सङ्गमस्थलको घर र जग्गा सिङ्गटी बजारमा पर्छ ।


त्यसैगरी पूर्वसांसद जितवीर लामाले दोलखाको लादुक–८ सिङ्गटीमा २०५८ सालमा एउटा कच्ची घर बिक्री गरेर पैसा लिए तापनि पास नगरेको भन्दै घर कब्जा गरेको जनाएको छ । पूर्वसांसद लामाले आपसी सहमतिमा डम्बरबहादुर बुढाथोकीलाई घर बिक्री गरेका थिए ।

तत्कालीन समयमा घरको मूल्याङ्कन रु ६० हजार गरी पटकपटकमा रु ५५ हजार लिए पनि थप रकम लिएर घर पास गरिदिनुपर्नेमा उल्टै पैसा लिएको प्रमाण दिन धम्कीसमेत दिएको पीडित बुढाथोकीले गुनासो गरे । पार्टीका तर्फबाट लामालाई लिखित र मौखिक रुपमा विगतको आपसी सहमतिअनुसार बुढाथोकीलाई थप पैसा लिएर घर पास गरिदिन गरेको आग्रह अटेर गरेकाले पार्टीले कब्जा गर्नु परेको चन्द माओवादीका अर्का नेता अर्जुन योगीले बताए । लामा २०४८ सालमा एमालेका तर्फबाट दोलखा क्षेत्र नं २ बाट निर्वाचित सभासद् हुन् । एमाले विभाजन हुँदा नेकपा (माले) हुँदै २०६४ सालमा माओवादी प्रवेश गरेका थिए । लामा एनेकपा (माओवादी)का केन्द्रीय सदस्य भइसकेका छन्
यस्तै, काभ्रेको नयाँगाउँ देउपुर - ८ मा रहेको १५ सय रोपनी जग्गा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले कब्जा गरेका छन् । काठमाडौं एगि्रकल्चर कन्सल्ट प्रालिको नाममा रहेको जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गरेको घोषणा गरेका हुन् ।
जिल्ला सेक्रेटरी दुर्गासिं तामाङ (प्रेरक)ले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएकाले कब्जा गरिएको बताए । 'सार्वजनिक जग्गा व्यक्ति मार्फत कम्पनीको नाममा आएको सूचनाका आधारमा हामीले कब्जा गरेका हौँ', उनले भने । गाविस कार्यलयलाई समेत थाहा नदिइ व्यक्तिको नाममा दर्ता गरेर कृषि विकास बैँकमा धितो राखिएको उक्त जग्गा लिलामी पछि प्रालिको नाममा दर्ता भएको पाएको उनले बताए । २०६९ सालमा स्थानीय सर्वदलीय संयन्त्रले समेत सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको भन्दै छानबिन गर्नको लागि ५० हजार रकम समेत छुट्याएको थियो । सेक्रेटरी प्रेरकले भुमाफियाको जग्गा कत्तजा गर्ने नीति अनुसार अन्य जग्गा पनि कब्जा गर्दै जाने बताए ।

कोई टिप्पणी नहीं: