बुधवार, 1 अप्रैल 2015

'सामान्य पहलमै बचाउन सकिन्छ हृदयाघातका बिरामीलाई' !

काठमाडौ, चैत्र १८ - सरकारले सामान्य पहल गरे हाल भएकै स्वास्थ्य संरचनाले अधिकांश हृदयाघात पीडित लाई बचाउन सकिने विज्ञहरूले सुझाएका छन् । सामान्य एमबीबीएस गरेका चिकित्सक भएका स्वास्थ्य निकायहरूबाट दुई हजार पर्ने औषधिको सहयोगले उपचार सम्भव हुने उनीहरूको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हृदयाघात हुनेको संख्या बर्सेनि करिब २० हजार हो । 'भारत र अमेरिकाको तथ्यांकलाई विश्लेषण गर्दा क्रमशः ४७ र ४० हजार नेपाली बर्सेनि हृदयाघातले मर्ने आँकलन गर्न सकिन्छ,' ग्रान्डी इन्टरनेसनल हस्पिटलका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले भने, 'मुलुकको अति सामान्य स्वास्थ्य संरचनामा समेत मात्र दुई हजार रुपैयाँको खर्चमा यस्ता बिरामीमध्ये ७० प्रतिशत सम्मको ज्यान जोगाउन सकिन्छ ।' हृदयाघात ज्यानमारा ठानिनु पछाडिको कारण यसको समयमै उपयुक्त उपचार नपाउनु रहेको औंल्याउँदै डा. मूर्तिले भने, 'यसको उपचार एन्जियोप्लास्टी वा औषधि (थ्रम्वोलाइसिस) हो ।' एन्जियोप्लास्टी गर्दा ठूलो स्वास्थ्य निकायमा जानुपर्ने बाध्यतासँगै तीन लाखसम्म लाग्ने भए पनि सुईको माध्यमले दिइने औषधि स्ट्रेप्टोकाइनेजमा करिब दुई हजार रुपैयाँ मात्र भए पुग्छ । स्ट्रेप्टोकाइनेज एमबीबीएस गरेका चिकित्सकसँगै सामान्य मेसिन मानिएको इसीजी र डिफ्युवलेटर, जसलाइ डीसी सक मेसिनसमेत भनिन्छ, भएको स्वास्थ्य संस्थामा समयमै हृदयाघातका बिरामी पुगेमा अधिकांशलाई बचाउन सकिन्छ ।


विज्ञहरूका अनुसार सामान्य ईसीजी मेसिनको मूल्य एक लाखभन्दा पनि कम हुन्छ, जुन प्रत्येक जिल्ला, अञ्चल र क्षेत्रीय अस्पतालमा हाल भएकै अवस्था हो । यस्तै हृदयाघातको चालमा अनियमितता (कार्डियाक अरेस्ट) भएमा डिफ्युवलेटर मेसिनले विद्युतीय झड्कामा दिएर मुटुको चाललाई सामान्य बनाएर ज्यान जोगाइन्छ । यो मेसिनको न्यूनतम मूल्य करिब एक लाख हो । 'एउटा स्वास्थ्य संस्थामा दुई लाखको मेसिनको सुविधा भए एउटा एमबीबीएस डाक्टरले हृदयाघातका बिरामीको उपचार गर्न सक्छ,' डा. मूर्तिले भने, 'यो उपचार गर्दा दुई हजारको स्टेप्ट्रोकाइनेजको सुईसँगै केही सामान्य औषधिको रकम तिर्नुपर्छ ।'
मुलुकभरकै प्राथमिक स्वास्थ्य निकायसम्मका सबै सरकारी स्वास्थ्य केन्द्रमा हृदयाघात उपचारको सुविधामा मेसिनको व्यवस्था गर्न मात्र चार करोड लाग्ने उल्लेख गर्दै उनले भने, 'चार करोडले कति नेपालीको ज्यान हृदयाघातबाट जोगाउन सकिएला, सहजै अनुमान लगाउन सकिन्छ ।' हृदयाघात भएकाका लागि एन्जियो ग्राफी गर्न सक्ने क्षमता भएको स्वास्थ्य निकाय मात्र चाहिन्छ भन्ने भ्रम हटाउनुपर्ने डा. मूर्तिले बताए । 'हृदयाघात भएका ७० प्रतिशत केसमा समयमै स्ट्रेप्टोकाइनेज औषधिको समुचित उपयोगले बन्द भएका मुटुका रक्तनली खोल्न सकिन्छ ।'
हृदयाघात भएको तीन घण्टाभित्र बिरामीलाई स्ट्रेप्टोकानेजको सुई दिए ६० प्रतिशत जीवन बचाउन सकिने उनको भनाइ छ । हाल काठमाडौं आएका भारत नयाँदिल्लीस्थित बीएलके सुपर स्पेसियालिटी अस्पतालका कार्डियोलोजी विभागका प्रमुख प्रा.डा. सुभाष चन्द्र भन्छन्, 'हृदयाघात भएका सबैलाई एन्जियोप्लास्टी गर्नु नै आवश्यक हुँदैन ।' भारतजस्तो देशमा बर्सेनि करिब डेढ सय मात्र कार्डियोलजिस्ट उत्पादन हुने गरेको दयनीय स्थिति औंल्याउँदै डा. सुभाषले भने, 'सबै ठाउँमा मुटुरोग विशेषज्ञ नै उपलब्ध हुनुपर्छ भन्ने छैन, हृदयाघातबाट आमव्यक्तिलाई जोगाउन फिजिसियनलाई पनि शिक्षित गर्नुपर्छ ।'

कोई टिप्पणी नहीं: