शुक्रवार, 22 मई 2015

घर बनाउन धमाधम फर्किंदै मलेसियाका नेपाली !

क्वालालम्पुर, जेष्ठ ८ - विनाशकारी भूकम्पले घर र परिवारका सदस्य गुमाउन पुगेका नेपालीहरु मलेसियाबाट धमाधम फर्कन थालेका छन् । भूकम्पका कारण आफ्ना परिवार बस्दै आएको घर भत्किएपछि अस्थायी भएपनि घर बनाउन र परिवारको मन सम्हाल्न यहाँ रहेका नेपालीहरु फर्कन थालेका हुन् ।
करिव ८ लाख नेपाली कार्यरत मलेसियाबाट नेपाल फर्किनेहरुमा यतिखेर अधिकांश छुट्टीमा र केही करार सकेर फर्कनेहरु छन् । विमान कम्पनीका प्रतिनिधिहरुका अनुसार भूकम्पपछि नेपाल फर्कनेको चाप बढ्दो छ ।
भूकम्पकै कारण परिवारका सदस्य गुमाएका विदेशमा कार्यरत नेपालीलाई सरकारले हवाईटिकट दिनेभएपछि यससँगै कम्पनीले छुट्टी नदिएकोजस्ता गुनासो लिएर आउने नेपाली बढेका नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार हालसम्म परिवारका सदस्य गुमाएका १७ जनाले हवाई टिकट दाबीका लागि सिफारिस लिएर घर फिर्ता भएका छन् ।

दूतावासले वैधानिक रुपमा श्रम स्वीकृति लिएर मलेसिया आएका र हालको भूकम्पमा परी परिवारका सदस्य गुमाएकालाई हवाई टिकटबापत रकम दाबीका लागि सिफारिस पत्र उपलब्ध गराउन थालेको छ । मलेसियामा भूकम्पबाट बढी प्रभावित जिल्ला गोरखा, सिन्धुपाल्चोक, रामेछाप धादिङ, नुवाकोट लगायत जिल्लाका नेपालीको संख्या बाक्लै छ ।
मलेसियाली सरकारले भूकम्प पीडित परिवारका मलेसियामा कार्यरत नेपालीलाई अस्थायी छुट्टी दिएर नेपाल फर्कन अनुमति दिएको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयका मन्त्री तानश्री जोसेफ कुरुपका लागि राजनीतिक सचिव भिसेन्ट वोङले गत आइतबार नेपालको प्रार्थनाका लागि आयोजित एक सभालाई सम्बोधन गर्दै नेपालीलाई छुट्टी दिन रोजगारदाताहरुलाई आग्रह गरेका थिए । तर पनि कतिपय रोजगारदाता कम्पनीले छुट्टी नदिँदा अझै कयौं नेपाली समस्यामा छन् ।
‘डेढ वर्षअघि २ लाख खर्च गरेर मलेसियाकै कमाइबाट पक्की घर बनाएको थिएँ । अब अहिले भूईंचालोले गर्दा समस्या भयो । परिवार सबै पालमा बसिरहेका छन् ,’ नाम्जुङ गोरखाका जंग गुरुङले बिहीबार घर फर्कनुअघि भने, ‘अरु दुईजना साथीहरु पनि कम्पनीले छुट्टी नदिँदा समस्यामा छन् । कम्पनीले अर्को हप्ता भन्दै आलटाल गरिरहेको छ ।’
भूकम्पकै कारण जंगको जस्तै समस्या भएको छ, स्याङ्जा चिन्नेबासका दीपक लम्साललाई पनि । ‘परिवार सबै ठीकै छन् । तर घर र धन्सारको नामोनिशाना छैन । छुट्टीको लागि पहल गरिदिन गुनासो लिएर दूतावास पनि पुगेँ, कम्पनी मालिकसामू रोएँ तर छुट्टी दिएको छैन ,’ उनले भने ‘अब वर्षा लाग्दैछ । सरकारको मुख ताकेर पालमूनि कहिलेसम्म बस्ने ? जानपाए घर बनाएर आउँथेँ ।’
दूतावासका श्रम सहचारी बुद्धि भट्टराईका अनुसार छुट्टी नपाएकोले पहल गरिदिन भन्दै दर्जनौं फोनहरु आउने गरेका छन् । कतिपयलाई फोनबाटै मिलाइएपनि केहीले छ्ट्टी नदिँदा समस्या भएको गुनासो छ ।
दूतावासले फर्कन चाहने नेपालीलाई छुट्टी दिन आग्रह गर्दै मलेसियाली रोजगारदाताहरुको छाता संगठन मलेसियन इम्प्लोयर्स एसोसियसनलाई डेढ साताअघि पत्रचार गरिएपनि हालसम्म जवाफ नआएको बतायो । तर अब सरकारी उच्च अधिकारीलाई नै भेटेर छुट्टीको बन्दोबस्ती मिलाउने दूतावासको तयारी छ ।

कोई टिप्पणी नहीं: