गुरुवार, 21 मई 2015

भूकम्पले गुल्मीमा ११४ कक्षाकोठा क्षतिग्रस्त !

७ जेठ, गुल्मी । विनासकारी भूकम्पका कारण गुल्मीका विभिन्न विद्यालयका एक सय १४ कक्षाकोठा पूर्णरुपमा भत्केका छन् । जिल्लाका विभिन्न ३० विद्यालयका एक सय १४ वटा कक्षा पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यसबाहेक भूकम्पका कारण जिल्लाका १३८ विद्यालयका २४३ कक्षाकोठामा ठूलो क्षती र एक सय २५ विद्यालयमा सामान्य क्षति पुगेको शिक्षा कार्यालयले जनाएको छ ।
धेरै क्षति भएका विद्यालयहरुमध्ये कतिपयले विद्यार्थीलाई त्रिपालमा राखेर र कतिपयले २ वटा कक्षाका विद्यार्थीलाई एकैठाउँमा राखेर पढाइएको शिक्षा अधिकारी डा. भोजराज शर्मा काफ्लेले बताए । ‘कक्षाकोठा भत्केपनि कोही पालमुनि कोही २ वटा कक्षा एकैठाउँ गरेर पनि पढाई चलाईएको छ,’ उनले भने, ‘कतिपयमा त अतिरिक्त कोठाहरु भएकाले सजिलो भयो, तर ५८ वटा विद्यालयमा तत्काल कक्षाकोठा नभइनहुने अवस्था छ ।’ भूकम्पले सबैभन्दा बढी १२ वटा कोठा बस्नै नमिल्ने गरी क्षति भएको जनबोध उच्च मावि रानिबास छ । त्यस्तै पृथ्वी उच्च मावि बडाउँमा १० वटा र शारदा मावि रुपाकोटमा ८ वटा कक्षाकोठा भत्किएका छन् ।
कक्षाकोठा भत्किएपछि अध्यायन अध्यापनमा निकै समस्या परेको शारदा मावि रुपाकोटका प्रधानाध्यापक ज्योतिमान श्रेष्ठले बताए । ‘चारवटा कोठाका विद्यार्थीलाई निकालेर एउटै कोठामा दुईवटा कक्षा राखेर सञ्चालन गरेका छौँ,’ उनले भने, ‘तत्काल कतैबाट व्यवस्था गरिएन भने त निकै समस्या हुन्छ ।’ दैवीप्रकोप समिति अनिर्णित विद्यालयको समस्या प्रमुख समस्या भएकोले जिल्लास्तरमा राहत जुटाएर अस्थायी टहरा बनाउने विषयमा जिल्ला दैवीप्रकोप उद्धार समितिमा छलफल भएपनि धेरै रकम लाग्ने देखिएपछि केही निर्णय हुन सकेन । पूर्ण क्षति भएका कक्षाकोठाका लागि मात्रै अस्थायी टहरा बनाउनुपर्ने भएपनि २० लाख रुपैयाँ लाग्ने देखिएपछि त्यति धेरै रकम स्थानीय तहमा जुट्न संभव नदेखिएकोले केही निर्णय नभएको प्रमुख जिल्ला अधिकारी तथा दैवीप्रकोप उद्धार समितिका संयोजक चन्द्रप्रसाद गैरेले बताए । – अनिल खत्रीबाट  

कोई टिप्पणी नहीं: