गुरुवार, 21 मई 2015

केन्द्रबिन्दु सुनखानी तहसनहस !

सुनखानी (दोलखा), जेष्ठ ७ - सिन्धुपाल्चोक—दोलखा सीमालाई केन्द्रबिन्दु बनाएर वैशाख २९ मा गएको ६.८ रेक्टरको भूकम्पले दुवै जिल्लालाई तहसनहस बनायो। यसको केन्द्रबिन्दु सुनखानी आसपासलाई मानिन्छ। यहाँका ९० प्रतिशत घर ढलेका छन्। जुन घर ठाडै छ, त्यसमा पनि मानिस बस्ने अवस्था छैन। ती घर पूरै चर्किएका छन्। ‘आउँदै छु भनेजस्तो गरेर भूकम्प आयो र फेरि आउँदै छु भनेजस्तो गरी गयो,’ सुनखानी—१ की ६६ वर्षीय मनमाया सिवाकोटीले भनिन्, ‘हेर्दाहेर्दै घर ढल्यो। पाडो र कुखुरा पुरिए। घरले पुरिएकी नातिनीलाई भने गाउँलेले सकुशल उद्धार गरिदिए। अन्नपात, भाँडाकँुडा सबै पुरिए। कसले निकालिदिने?’ त्यसयता उनको परिवार ढलेको घरनजिक छाप्रो बनाएर बसिरहेको छ।
सुनखानीका अरू परिवारको अवस्था पनि उस्तै छ। उनीहरूलाई पराकम्पन बारम्बार आइरहेको छ। कतिखेर चर्किएको घर ढल्छ भनेर हेर्नुको विकल्प छैन। राहतमा थुप्रैले त्रिपाल पाएका छन्। रातो र सुन्तले रङका त्रिपालले गाउँ रंगिएको छ। त्रिपाल नपाउनेले पुराना जस्ता उपयोग गरेर छाप्रा बनाएका छन्।
वैदेशिक रोजगारमा गएका युवाको रेमिट्यान्स र कृषिमा जसोतसो धानिएको जीवन अब भूकम्पले गाह्रो बनाएको छ। ‘बारीमा गहुँ झुप्पै पाकेको छ, घर भित्र्याउन मात्र बाँकी छ। तर, कहाँ राख्ने?’ सुनखानी—३ का ध्रुव पोकुवाल भन्छन्, ‘विनाश लिएर भूकम्प कतिखेर आउँछ भन्ने थाहा हुन्न। यस्तो त्रासमा पाकेको गहुँ कहिले टिप्ने? टिपेर कहाँ राख्ने? आफ्नै बास छाप्रोमा छ।’

वैशाख १२ गतेको महाभूकम्पले यहाँका चार हजार ६ सय ७५ जना बस्ने १ हजार १ सय ९४ घरमध्ये अधिकांश घर चर्किएका थिए। ‘२९ गतेको भूकम्पले झन् सखापै पार्‍यो,’ गाविस सचिव दिलबहादुर आचार्यले भने, ‘८० प्रतिशतभन्दा बढी घर ठाडै रहेनन्। नचर्किएका घरै छैनन्। वैशाख १२ मै धेरैले घर छाडेका थिए। २९ गतेदेखि घरमा एकजना पनि बस्ने अवस्था छैन।’
छिमेकी गाविस सिंगटी बजार ठूलै संख्यामा मान्छेको ज्यान लिएर ध्वस्तै भयो। सुनखानीमा वैशाख १२ र २९ मा एक—एकजनाको मृत्यु भयो। बाँचेकाहरूको दैनिकी पनि भूकम्पले निक्कै तनावपूर्ण बनाएको छ। सरकारबाट ५० बोरा चामलबाहेक अरू केही नपाएको गाविस सचिव आचार्यले बताए। महाभूकम्पपछि अन्न निकाल्न नपाएकाहरूको विभिन्न संघसंस्थाले ल्याइदिने केही माना राहतमै जीवन अल्झिएको छ।
सचिव आचार्यका अनुसार खानेपानी सेवा ठप्प छ। ‘कुनैको मुहान भासियो। केहीको ट्यांकी फुट्यो। केहीको पाइपलाइन बिग्रियो। खोल्सी र कुवाको पानीमा निर्भर हुनुपर्‍यो,’ सचिव आचार्यले भने। सबै खोल्सी र कुवाबाट सीधै लिइने खानेपानी सफा हुन्न। त्यसैले झाडापखाला लगायतका बिरामी बढेको सुनखानी स्वास्थ चौकीका हेल्थ असिस्टेन्ट धीरेन्द्रकुमार चौधरीले बताए। स्वास्थ्य चौकीका दुईमध्ये एक भवनमा छिर्ने अवस्था छैन। ‘कतिखेर ढल्छ भन्ने थाहा छैन,’ चौधरीले भने, ‘अर्को पनि बस्नै नहुने गरी चर्किएको छ। त्यसैमा काम गर्नुपर्ने बाध्यता छ।’
गाविस सचिव आचार्यका अनुसार सबै शैक्षिक संस्थाका भवन ढलेका छन्। यहाँ एक क्याम्पस र १० विद्यालयमा करिब २ हजार विद्यार्थी छन्। गाविस कार्यालय, भेटनरी, हुलाक, सामुदायिक अध्ययन केन्द्र लगायत सबै सार्वजनिक भवन ढलेका छन्। चरिकोटबाट सुन्द्रावती हँुदै सुनखानी पुग्ने कच्ची सडक ठाउँठाउँमा चिरिएको छ। पानी पर्‍यो भने चिरिएका सडकको अवस्था के होला भन्ने चिन्ताले स्थानीयलाई सताएको छ।

कोई टिप्पणी नहीं: