शनिवार, 4 जुलाई 2015

अस्पतालले यसरी लुट्छन्, मृगौला पीडितलाई !

रातोपाटी संवाददाता/भरत पाण्डेय
काठमाडौं, असार १९ – दुई महिनाअघि आफ्नी बहिनीलाई दुवै मृगौला फेल भएको पत्ता लागेपछि अर्घाखाँचीका मिलन आचार्यले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर भर्ना गरे । १५ दिनअघि अस्पत्तालले उनलाई अपरेशनको समय दियो ।
Kidney-Diseaseजब उनको मानव अंग प्रत्यारोपणको समय किटान भयो, केन्द्रका अपरेशन थिएटर (ओटी) का सिस्टरहरुको आउजाउ बढी हुन थाल्यो उनको बेडमा । औषधी किन्ने, अपरेशनका लागि आवश्यक पर्ने सर्जिकल सामान किन्ने, अन्य उपकरणहरु लिने भन्ने विषयमा उनीहरुले बेडमै पुगेर बिरामीका आफन्तलाई सर–सहयोग गर्न थाले । उनीहरुकै सर–सल्लाह अनुसार आचार्यका आफन्तले औषधि र सर्जिकल सामान पनि किने । तर, सबै किनेपछि मात्रै थाहा भयो, औषधीमा उनी ठगिए । ‘हामी त नयाँ मान्छे के थाहा भयो र ? उनले जुन–जुन ठाउँमा सस्तो पाइन्छ भनिन्, त्यही–त्यही ठाउँमा मात्रै गएर औषधी ल्याईयो,’ उनले भने, ‘पछि मात्र थाहा भयो, उनले भनेको ठाउँमाभन्दा त अन्यत्र नै सस्तोमा पाइने रहेछ ।’
उनीहरुका लागि सर्जिकल सामान किन्न वीर अस्पत्ताल अगाडि आकासे पुलमुनिको सटरमा रहेको सर्जिकल पसलमा पठाइएको थियो । सर्जिकल सामान व्यापारी ती महिलाका आफन्त रहेकाले उनले त्यहाँ सिफारीस गर्ने र त्यसबाट कमिसन लिने गरेकोले सामानको चर्को शुल्क पर्ने गरेको उनले बताए । अरु सबै सामान ती महिलाले भनेकै ठाउँमा किनेपछि केही सर्जिकल सामान भने उनले भक्तपुरकै क्यान्सर अस्पत्तालबाट किने । उतै सामान किनेको भएपनि अप्रेसन गर्ने बेला महिलाले अह्राएको व्यक्तिकहाँ नकिनेको भन्दै उनलाई २१ हजार पर्ने पाइप ४ वटा किन्न लगाइएको थियो । ‘अप्रेशन शुरु भयो होला भन्ने बेला तर, तपाईंले यो सामान कहाँबाट ल्याएको हो? किन हामीले भनेको ठाउँमा नकिनेको भन्दै ती महिलाले थर्काइन्’ उनले भने, ‘फेरी किनेर ल्याउनुस भनेपछि अप्रेसन गर्नेबेला दौडधुप भयो ।’ उनले आफूले पहिला किनेको सामान अस्पतालले फिर्ता समेत नगरेको गुनासो गरे ।
यसरी गुनासो गर्ने उनीमात्र होइनन्, केही महिना पहिला मानव अंग प्रत्यारोपण गरेका बुटवलका एक पीडितका आफन्तले पनि आफूलाई औषधी खरीद गर्दा मानव अंग प्रत्यारोपण केन्द्रका कर्मचारीले ठगेको गुनासो गरे । उपचारका लागि आवश्यक पर्ने औषधी आफ्नो चाहनाअनुसार किन्न पाउनुपर्नेमा अन्यत्र जान नहुने भन्दै फोन गराएर औषधी किन्न पठाउने गरेको उनका आफन्त रमेश पाण्डेले बताए । ‘हामी त चन्दा उठाएर उपचार गर्र्दै हो, मिल्नेसम्म मिलाइदिनुस न भनेर भनेको उल्टै तपाईंलाई मिलाइदिएर हामीले अस्पताललाई कमिसन चाहिँ के बाट दिने नि पो भन्छन् ।’ उनले सुनाए ।
human transplanted
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर
केन्द्रले अप्रेशन गर्नुअघि विरामीले किन्नुपर्ने सम्पूर्ण औषधीको लिष्ट पनि नदिएर आफैंले राख्ने र त्यहाँ नपाइने औषधी किन्न आफन्तकहाँ तोकी–तोकी पठाउने गरेको विरामीका आफन्तको गुनासो छ । अस्पतालभित्रै रहेको फार्मेसिमा पनि व्यापक ठगी हुने गरेको गुनासो बढेको छ । उक्त फार्मेसीले अस्पतालले दिएको औषधिको लिष्ट आफैले राख्ने, त्यहाँ नपाउने मात्रै बाहिर किन्न पठाउने, नजिकैका अन्य अस्पतालका फार्मेसिहरुमा किनेको औषधी हुँदैन भन्ने गरेको सर्लाहीका किशोर चौधरीले बताए । ‘शुरुमा औषधीको नाम समेत नदेखाएर ७० हजार धरौटी राख्छन् र अब यहाँबाट आवश्यक औषधी लिन पैसा लाग्दैन, अन्तिममा हिसाब–किताव हुन्छ भन्छन्’ उनले भने, ‘तर बिरामीलाई ओटीमा लैजाने बित्तिकै औषधी किन्न जाँदा धरौटीको औषधी त गइसक्यो, पैसा छ भने अरु औषधी लग्नुस नत्र पाइन्न भन्छन् ।’ पहिला लगेका औषधी फिर्ता गरेर अरु ल्याउनुस भन्दै अपरेशन थिएटरबाट पठाएपनि फार्मेसिमा भने एकैपटक उपचार सकिएपछि मात्रै औषधी फिर्ता हुन्छ नत्र हुँदैन भनेर पठाएको उनले बताए । ‘चन्दा मागेर उपचार गर्न आएको हो, फिर्ता गर्नुपर्ने औषधी त फिर्ता गर्नुस र नयाँ दिनुस भन्दा त मान्दै मान्दैनन्’ उनले गुनासो गरे, अहिले पैसा लिएर आउनुस, फिर्ता गर्नुपर्ने औषधीका लागि बिरामी डिस्चार्ज गर्नेबेला आउनुस एकैपटक फिर्ता गरौँला भन्छन् ।’
कुनै विरामीले सामान्य स्लाईन र सिरीन्जहरु अस्पताल तथा दाताहरुबाट लिएपनि यी औषधी नलिनुस काम लाग्दैनन भनेर फर्काउने गरेका छन् । एक साताअघि एक व्यक्तिले भक्तपुर दाताहरुले दिएको सिरीन्ज र स्लाईन अस्पत्ताल लैजान खोज्दा तपाईले यो औषधी लिनुभयो भने तपाईंको कुनैपनि औषधी फिर्ता हुँदैन भनेर फर्काइदिएका विरामी कुरुवाको गुनासो छ ।
प्रत्यारोपण केन्द्रले रगत र महंगा औषधीको लागि विरामीलाई अनावश्यक तनाव पनि दिने गरेको छ । चाहिएभन्दा बढी रगत मगाउने, फ्रेस ब्लडको नाममा तनाव दिने र एटिजी २५ भन्ने महंगो औषधीको लागि बाहिरबाट खोज्नुस भनेर दुःख दिने गरेको विरामीका आफन्तहरु बताउँछन् । ‘पहिला फ्रेस ब्लड यति भन्छन् दिनभरी दौडधुप गरेर मान्छे जुटायो अनि फेरी हैन हिजोको भएपनि हुन्छ भनेर हिस्स पार्छन्’ एक विरामी कुरुवाले भने, ‘रगतमा पनि लापर्वाही त गर्नु भएन नि, अनि आवश्यकताभन्दा बढी ह्वाईटब्लड मगाउँछन्, त्यो फिर्ता पनि हुँदैन ।’
नजिक रहेको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रका कर्मचारीले समेत रगतमा मानव अंग प्रत्यारोपण केन्द्रले लापर्वाही गर्ने गरेको बताए । फ्रेस ब्लडको नाममा ६ घण्टा पुरानो रगत चलाउने र ह्वाईटब्लड धेरै मगाएर खेर फाल्ने गरेको उनीहरुको आरोप छ । ‘३ पिण्ट चाइने हो भने ६ पिण्ट मगाउँछन्, अनि पछि फिर्ता गर्ने भनेर पठाउँछन्’ रक्तसञ्चार केन्द्रका एक कर्मचारी भनछन्, ‘ह्वाईटब्लड त तैयार गर्नै एकडेढ घण्टा लाग्छ, फेरी फिर्ता पनि हुन्न । एकातिर रगतको नोक्शान, अर्कोतिर विरामीको खर्च ।’
मानव अंग  प्रत्यारोपणका क्रममा प्रयोग गरिने एटिजी २५ नामक औषधी पनि बेला–बेलामा नेपालमा अभाव हुने भएकोले ब्रम्हलुट हुने गरेको मानव अंग प्रत्यारोपण गर्न आउने धेरै विरामीको गुनासो छ । सिमित संख्यामा मात्रै नेपालमा भित्रने उक्त औषधी जहाँबाट किनेपनि अस्पत्ताललाई कमिसन जान्छ । त्यसका लागि उनीहरुले धेरै सोधीखोजी समेत गर्छन् । तर, उक्त औषधी किन्नका लागिभने विरामी र आफन्तले निकै तनाव लिनुपर्छ । काठमाडामा अभाव भएको बेला चितवन र भारतबाट समेत ल्याउने जिम्मा आफै लिनुपर्ने र ल्याउने क्रममा बाटोमा बिग्रियो भने कसैले जिम्मा नलिने भएकोले एक डेढलाखको औषधीमा विरामी आफन्तलाई निकै तनाव हुने गरेको बुटवलका निमेन्द्र पराजुलीले बताए । 

कोई टिप्पणी नहीं: