शनिवार, 4 जुलाई 2015

नेपाल विश्व वरियतामा नेदरल्यान्ड्समाथि रोमाञ्चक विजय

काठमाडौ, असार १९ - नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियको विश्व वरियतामा प्रवेश गरेको छ । शुक्रबार नेदरल्यान्ड्ससँगको चार खेलको शृंखला पूरा गरेसँगैं नेपालले अन्तर्राष्ट्रिय क्रिकेट (आईसीसी) को महत्वपूर्ण उपलब्धि हात पारेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को आगामी नयाँ वरियतामा अव नेपाल पनि समेटिने छ। नेपालले शनिबार अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्‍यो । यद्यपि नेपालले शृंखला ३–१ ले गुमायो । नेपाल पहिलो तीन खेलमा क्रमश: १८, १ सय ३ र १८ रनले पराजित भएको थियो ।
Paras_Khadka_Final               तस्विर : क्रिकेट यूराेप
विश्व वरियतामा प्रवेश पाउन कम्तिमा ८ खेल खेल्नुपर्ने प्रावधान छ । नेपालले गतवर्ष बंगलादेशमा विश्व ट्वान्टी–२० मा तीन खेल खेलेको थियो । त्यसमा हङकङ र अफगानिस्तानसँग विजय हात पार्दै जुझारु प्रदर्शन गरेपछि आईसीसीले नेपाललाई ट्वान्टी–२० अन्तराष्ट्रियको मान्यता दिएको थियो ।
गतवर्षको जुनमा आईसीसीले नेपाललाई सो मान्यता दिए पनि नेपालले पछिल्लो १ वर्षमा श्रीलंका गएर हङकङसँग १ खेलमात्र खेलेको थियो । तर नेदरल्यान्ड्ससँगको ४ खेलपछि नेपालले आईसीसीले तोकेको ८ खेल खेल्दै विश्व वरियतामा छिर्नेछ । नेदरल्यान्ड्स अहिले १२ औं स्थानमा छ । नेपालले आईसीसीको नयाँ वरियतामा १४ औं स्थानमा रहेको जिम्बावेलाई उछिन्ने निश्चित छ । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालले ८ खेल खेलेको छ र त्यसमा ३ विजय र ५ पराजयको नतिजा निकालेको छ ।
पारसले जिताए नेपाललाई
स्पिनरहरुको सानदार बलिङ, कप्तान पारस खड्काको अर्धशतक र सोमपाल कामीको  विजयी चौकामा नेपालले शुक्रबार रोटरडयामको हेजेलारवेगमा रोमाञ्चक विजय हात पार्‍यो । टस जितेर नेदरल्यान्ड्सले ७ विकेट गुमाई १ सय ३९ रन बनायो । नेपालले २ बल अगाडी १ सय ४१ रन बनाउदै लक्ष्य भेट्टायो ।
पारसले ५४ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पारसको यो पहिलो र नेपाली खेलाडीको दोस्रो अर्धशतक हो । गत वर्ष अफगानिस्तानविरुद्ध विश्व ट्वान्टी–२० मा सुवास खकुरेलले ५६ रन बनाएका थिए । पारसले इनिङ्सका क्रममा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा २ सय रन पूरा गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान पनि बनाए ।
पारसले ४१ बल खेली ६ चौका प्रहार गरे । उनी १९ औं ओभरको दोस्रो अन्तिम बलमा आउट भए । सो समयमा नेपाललाई ७ बलमा १० रन चाहिन्थ्यो । सोमपालले पहिलो बलमै चौका प्रहार गरे । अन्तिम ओभरमा ६ रन चाहिने अवस्थामा प्रदीप ऐरी पहिलो बलमै आउट भए । तर सोमपालले चौथो बलमा चौका प्रहार गरी नेपाललाई नाटकीय विजय दिलाए ।
नेपालले सुवास खकुरेलको स्थानमा अनिल मण्डललाई खेलाएर विनोद भण्डारीलाई विकेटकिपिङको जिम्मा दिएको थियो । तर त्यसले नेपालको माथिल्लोक्रमको ब्याटिङ समस्यालाई सुधार गरेन । इनिङ्सको पहिलो बलमा चौका प्रहार गरेका सागर पुन अर्को बलमा आउट भए । ज्ञानेन्द्र मल्ल २२ बलमा ३ चौका प्रहार गरी १८ रनमा आउट भए ।
ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गरिरहेका अनिल ९ रनमा रनआउट भए । विनोद १३ र शरद भेषावकर १२ रनमा आउट भए पनि पारसले अर्को इन्डबाट नेपाली इनिङ्स थामेका थिए । नेदरल्यान्ड्सका एहसान जमिलले ३ विकेट लिए ।
नेदरल्यान्ड्सले शृंखलामा लगातार चौथो पटक पहिला ब्याटिङ गर्‍र्यो । ओपनरद्वय स्टेफन मेबर्ग र मिचेल स्वार्टलाई आराम गर्न दिएको घरेलु टोलीबाट तल्लोक्रममा रोइलोफ भान डेर मर्वीले सर्वाधिक ४० रन बनाए । दक्षिण अफ्रिकाबाट यसअघि १३ एकदिवसीय अन्तर्राष्ट्रिय र १३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका मर्वीले छैटौं नम्बरमा ब्याटिङ गर्दै २७ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । इन्डियन प्रिमियर लिगमा दिल्ली डेर डेभिल्स र रोयल च्यालेन्जर बेङलोरबाट पनि खेलिसकेको उनको डच टोलीबाट यो पहिलो खेल थियो ।
उनले आठौं विकेटमा मिचेल रिपोनसँग ३१ बलमा ५६ रन जोडेपछि मात्र नेदरल्यान्ड्सको स्कोर हेर्न लायकको बनेको थियो । रिपोनले १४ बलमा २ चौका प्रहार गरी २२ रन बनाए । यसअघि टोलीले १५ ओभरमा ८३ रन बनाउदा ७ विकेट गुमाइसकेको थियो । ओपनर रहिल अहमदले २५ र पिटर बोरेनले २३ रन बनाए ।
अफ स्पिनर सागर पुनले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चे । वसन्त रेग्मीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । अर्का देव्रेहाते स्पिनर शक्ति गौचनले ४ ओभरमा १८ रनमात्र खर्चे । उनले सोमपालसँग मिलेर बलिङ सुरुआत गरेका थिए । सोमपालले १ विकेट लिए ।
१७ छक्का
नेदरल्यान्ड्स क्रिकेट संघले शृंखलामा प्रत्येक छक्का बराबर ६ युरो नेपालको भुकम्प पीडित सहयोगका लागि उठाउने जनाएको थियो । शृंखलामा दुवै टोलीले कूल १७ छक्का प्रहार गरे । त्यसमा नेदरल्यान्ड्सले १३ र नेपालले चार छक्का प्रहार गरेको थियो ।

कोई टिप्पणी नहीं: