सोमवार, 3 अगस्त 2015

विकास बैंकको सात करोड ठगी

१८ साउन, काठमाडौं । सात करोड २४ लाख रुपैयाँ अनियमितताको आरोपमा नारायणी विकास बैंकका पूर्वसञ्चालक तथा कर्मचारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकका तीन पूर्वकर्मचारीलाई पक्राउ गरेको हो ।
nepali-noteसिआइबीले तत्कालीन महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ तथा कर्मचारी दीपक श्रेष्ठ र सुरेश लामिछानेलाई आइतबार पक्राउ गरेको हो । बैंकका तत्कालीन अध्यक्ष दिव्यकुमार श्रेष्ठले कर्मचारीसँगको मिलेमतोमा पटक–पटक विनाधितो सात करोड २४ लाख ७७ हजार ६ सय ५० रुपैयाँ लिएका थिए । उनले रकम फिर्ता नगरेपछि कर्मचारीसमेत फसेको नयाँ पत्रिकामा खबर छ ।
श्रेष्ठ र पूर्वकर्मचारी रामचन्द्र तिमल्सिनालाई यसअघि नै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरू क्रिस्टल फाइनान्सको अनियमिततामा पहिलेदेखि नै जेलमा थिए । पाँचैजनालाई कारबाहीका लागि चितवन प्रहरीमा बुझाइएको सिआइबीका एसपी श्यामराज ज्ञवालीले बताए ।

पूर्वअध्यक्ष श्रेष्ठले ०५९ मा चितवनको भरतपुर, टाँडी, नारायणघाट र यज्ञपुरी शाखाबाट कर्मचारीलाई प्रभावमा पारी सापटी भन्दै पैसा लिएका थिए । नेपाल राष्ट्र बैंकको अनुसन्धानबाट बैंकिङ नियमविपरीत पैसा निकालेको र नतिरेको खुलासा भएको थियो । राष्ट्र बैंकले गत १५ माघमा अनुसन्धानका लागि पत्राचार गरेको थियो । नारायणी विकास बैंकको कार्यक्षेत्र चितवन भएकाले चितवन प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ । २२ वटा मुद्दामा पूर्वअध्यक्ष श्रेष्ठसहित पाँचजनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी राजन अधिकारीले बताए । नारायणी विकास बैंंकका पूर्वअध्यक्ष श्रेष्ठ तीन वर्षदेखि कारागारमा छन् ।

कोई टिप्पणी नहीं: