सोमवार, 3 अगस्त 2015

म्याग्दीका दर्जन बस्ती उच्च जोखिममा

म्याग्दी, श्रावण १८ - धाजा फाट्दै बग्न थालेपछि जिल्लाका दर्जनभन्दा बढी बस्ती पहिरोको उच्च जोखिममा परेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिका अनुसार सदरमुकाम बेनी नगरपालिकाअन्तर्गत बेनीबजार, बगरफाँट, बाँस्कुना, चिप्लेटी, ओखरबोट गाविसको ओखरबोट, मुनाको दर, बेगखोलाको बान्दुक, भकिम्लीको तोराखेत, कुइनेको चौरखानी, पुलाचौरको चिप्लेटी, पात्लेखेतको बान्द्रखाल्टी, पाखापानीको रायोखोर, रन्जाको खस्रुपानी, झिंको घ्याङ्ग्रीखोला र शिखको तल्लो गाउँमा जताततै पहिरो चलेको छ ।
ओखरबोटका ८० घरमध्ये अति जोखिमका २० परिवारलाई सोलेदेउरालीको डाँडामा सारिएको छ । मुनाका २९ घर र अति जोखिमका ४७ घरलाई सुरक्षित ठाउँमा सार्न लागिएको जिल्ला प्रहरीले जनायो । ‘जिल्लाका धेरै बस्तीबाट पहिरोको जोखिम बढेको खबर आएका छन् । अहिले उच्च जोखिमका बस्ती सार्न थालेका छौं । त्यहाँ रेडक्रसमार्फत राहत सामग्री पुर्‍याइएको छ,’ प्रहरी नायब उपरीक्षक हीरा गिरीले भने, ‘थप जोखिम अध्ययन गर्न टोलीसँगै उद्धार सामग्रीको व्यवस्थापनमा लागेका छौं ।’

रेडक्रस ओखरबोट उपशाखाका अनुसार वडा ९ खानेपानी टोलस्थित जुकेपानीको पहिरो दुई वर्षअघिबाट बग्न थाले पनि भूकम्पपछि जेठबाटै पूरै बस्ती बग्न थालेको हो । पहिरोले अहिलेसम्म टेकबहादुर विक, दलप्रसाद घर्ती, टेकबहादुर घर्तीसहित ७ घर बगाएको छ । गाउँका प्राय: सबै घर कोल्टे परेका छन् ।
‘बस्ती छेउको जुकेपानी पहिरो पुरानो भए पनि भूकम्पपछि जमिन झनै चिरा पर्दै बग्न थाल्यो । ओखरबोट मावि पनि कोल्टे परेको छ,’ उपशाखा अध्यक्ष मोतीराज उपध्यायले भने । जिल्ला भूसंरक्षणका अनुसार जिल्लाका ३८ गाविसका एक हजारभन्दा बढी परिवार पुरानै पहिरोको जोखिममा छन् । ‘म्याग्दी बाढीपहिरोको उच्च जोखिम जिल्ला हो । यो वर्ष झन् भूकम्पले चट्टानी पहाडलाई थप मक्काइदिएको र फाटेका पहाडमा वर्षाको पानी भासिने (सिपेज) हुँदा ठूला पहिरो जाने खतरा छ,’ जिल्ला भूसंरक्षण अधिकृत दिवाकर पौडेलले भने, ‘कालीगण्डकी, म्याग्दी खोला र राहुघाट जलाधार क्षेत्रका सदरमुकामसमेत प्राय: सबै बस्ती जोखिममा छन् ।’
नासाले भूकम्पपछि सार्वजनिक गरेको स्याटलाइट तस्बिरमा कालीगण्डकी करिडोरलाई बाढीपहिरोको उच्च जोखिम ‘रातो’ विन्दुमा राखेको थियो । कालीगण्डकीले बनाएको खोंचका प्राय: सबै पहाड ९० डिग्रीभन्दा बढी भिरालो छन् । यिनै पहाडको फेदीका बस्ती बाढीपहिरोको उच्च जोखिममा परेका हुन् ।
‘म्याग्दीका चट्टानी पहाडलाई भूकम्पले थप मक्काइदिएको र फाटेका पहाडमा वर्षाको पानी सिपेज हुँदा झन् ठूला पहिरो गएर मानवीय क्षति हुने खतरा बढेको हो,’ जिल्ला भूसंरक्षण अधिकृत दिवाकर पौडेलले भने, ‘कालीगण्डकी, म्याग्दी खोला र राहुघाट जलाधार क्षेत्रका ३८ बस्ती पहिरोको उच्च जोखिममा छन् ।’
कुनै प्राविधिक योजना र भौगर्भिक बनोटलाई पहिचान गर्न नसक्दा हाम्रो सडक पूर्वाधार विकासले पनि बर्सेनि ठूलो क्षति गरिरहेको छ । भौतिक संरचनाका इन्जिनियरिङ डिजाइन पनि फरक चट्टानअनुसार गर्नुपर्ने हो तर विलकुल भएका छैनन् । पूर्वाधारबाट क्षतिग्रस्त क्षेत्रको ट्रिटमेन्ट पनि भएको छैन ।
कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा यसअघि पनि पटकपटक पहिरो झर्ने र थुनिने गरेका थिए । कालीगण्डकी २०१४ मा ठूलो पहिरोले थुनिएको थियो । ०५५ असोज १० गते अन्धगल्छीको तातोपानी बजारमा शिख गाविसको गोगनपानी भीर खस्दा नदी १० घण्टा थुनिएको थियो । पछिल्लोपटक ०७२ जेठ १० गते राम्चेको काफलडाँडामुनिको महभीर खस्दा १६ घण्टा थुनियो । ०४४ मा मुस्ताङको हिमताल फुटेर कालीगण्डकी तटीय क्षेत्रमा व्यापक धनजनको क्षति पुर्‍याएको थियो ।
अर्को जोखिमयुक्त म्याग्दी नदीमा ०४५ असोज २ गते साँझ निस्कोट गाविसको छरछरेको भीर भत्कँदा दरबाङ बजार पुर्दा १ सय ९ को मृत्यु भएको थियो । त्यसैगरी तीन वर्षअघि जिल्लाको मध्य जलाधार क्षेत्रको पाखापानीको बेंसीबाट पहिरो झर्दा राहुघाट खोला ८ घण्टा थुनिएको थियो ।

कोई टिप्पणी नहीं: