सोमवार, 3 अगस्त 2015

उनन्चालिस वटा उच्च मावि खारेज

काठमाडौँ, साउन १८ – उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरिका ३९ वटा उच्च माविको अनुमति खारेज गरिदिएको छ । दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका उच्च माविको सम्बन्धन खारेज गरिदिएको परिषद्ले जनाएको छ ।उच्च माध्यामिक शिक्षा नियमावली २०५२ को नियम ७ र सम्बन्धनसम्बन्धी विनियम २०५५ को विनियम ६।१ बमोजिम उनीहरुको सम्बन्धन खारेज गरिएको परिषद्ले स्पष्ट पारेको छ । खारेजी प्रक्रियामा रहेको भन्दै ७१ वटा उच्च माविलाई परिषद्ले गएको असार ७ गते सार्वजनिक सूचना प्रकाशित गरी १५ दिनभित्रमा स्पष्टीकरण दिन आग्रह गरेको थियो तर परिषद्को आग्रह अनुसारको स्पष्टीकरण दिन नसकेका उच्च मावि खारेजीमा परेका हुन् ।
परिषद्ले आज सार्वजनिक सूचना प्रकाशित गरी ३९ वटा उच्च मावि खारेज गरिएको जनाएको छ ।
सम्बन्धन खारेज हुनेमा सबैभन्दा धेरै ललितपुरका उच्च मावि परेका छन् । परिषद्का अनुसार ललितपुरका सात वटा उच्च माविको सम्बन्धन खारेज भएको छ । त्यस्तै, काठमाडौँ र मोरङका पाँच/पाँच वटा, झापा, मकवानुपर, तनहुँ र नवलपरासीका दुई/दुई वटा उच्च मावि खारेज भएका छन् । परिषद्का अनुसार इलाम, उदयपुर, धनुषा, दोलखा, काभ्रे, भक्तपुर, लमजुङ, रुपन्देही, प्युठान, रुकुम, बर्दिया र सुर्खेतका एक/एक वटा उच्च मावि खारेजीमा परेका छन् ।

खारेज हुनेमध्ये सामुदायिक विद्यालयको उच्च मावि दुई वटा, क्याम्पस १३ वटा, निजी २० वटा, संस्थागत दुई, प्लस टु मात्रै सञ्चालन गर्ने भनेर अनुमति लिएका दुई वटा रहेका छन् । परिषद्बाट कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउन यसअघि अनुमति लिएका ती उच्च माविलाई कुनै पनि शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना नगर्न नगराउनु समेत परिषद्ले सूचित गरेको छ ।

कोई टिप्पणी नहीं: