शुक्रवार, 9 अक्तूबर 2015

प्रचण्ड : ‘हिरो’ बन्ने कि केपी ओलीको कार्यकर्ता ?

रुण बराल २२ असोज, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड यतिबेला कार्यकर्ताहरुको प्रशिक्षणमा देश दौडाहामा छन् । यस क्रममा उनले भन्ने गरेका छन् कि अबको दुई वर्षमा एमाओवादीलाई देशकै प्रथम पार्टी बनाउने मैले प्रतिज्ञा गरिसकेको छु । कांगेस र एमालेजस्ता पुराना पार्टीलाई जितेर पहिलो पार्टी बन्ने बताइरहेका प्रचण्डबारे संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले रोचक उपमा दिएका छन् । यादवले आफूनिकटका नेतासँग प्रचण्डबारे भन्ने गरेका छन्- ‘केपी ओलीका कार्यकर्ताको खबर के छ ? एकपटक उनलाई आफ्नो चुनावक्षेत्र सिरहा-५ मा जाऊ भनिदिनोस् न ।’
prachanda (4)आफ्नो दललाई देशकै पहिलो बनाउने दाबी गरिरहेका प्रचण्ड आफ्नै निर्वाचनक्षेत्रमा जान नसक्ने यादवको दाबी छ । सूत्रहरुका अनुसार यादव थप के अचम्ममा परेका छन् भने त्यत्रो जनयुद्ध लडेर आएको मान्छे कसरी केपी ओलीको आज्ञाकारी कार्यकर्ता बन्न सकेका होलान् ? पहिलो पार्टी बनाउने गफ प्रचण्डले काठमाडौं र इटहरीका प्रशिक्षण कार्यक्रमहरुमा एमाओवादीलाई पहिलो दल बनाउने घोषणा त गरे, तर पहिलो दल बनाउने आधार उनीसँग के-के छन् त ? यसमा प्रचण्डको भनाइको सार यस्तो देखिन्छ : एक– भूकम्पपछि राष्ट्रिय एकता कायम गर्न र संविधान बनाउन आफूले निणर्ायक भूमिका खेलेकाले आफ्नो हाइट उचो भएको छ, हिजो प्रचण्डको विरोध गर्नेहरुले पनि हाइहाइ गर्न थालेका छन् । आफ्नो उचाइ बढेपछि एमाओवादी कार्यकर्तालाई पनि विपक्षीले हेप्न छाडेका छन् । दुई-विगतमा ३५ वर्षको हुँदा एउटा समूहको महासचिव चलाएको र अहिले ६२ वर्षमा पनि आगामी दुई वर्षसम्म दौडधूप गर्न सक्ने उमेर र शरीरले साथ दिएको छ ।
मन पनि छ । तीन-प्रधानमन्त्री वा राष्ट्रपति बन्ने प्रस्ताव पनि आएको थियो, तर, दुई वर्ष सक्रिय भएर पार्टी बनाउने हो, पहिलो पार्टी बनाउने हो । एमालेमा जाने हैन, एमालेलाई ल्याउने हो । चार-हिजोसम्म संविधान बनाउनेतिर लागेको हुनाले पार्टी संगठनमा खासै ध्यान दिन पाइएन, अब संविधान बनिसकेकाले पार्टी निर्माणमा ध्यान दिने समय आएको छ । र, अब त्यसैमा लागिन्छ । बाबुरामलाई पनि देखाइदिने गरी ठूलो पार्टी बनाइन्छ । पाँच-अब पार्टीलाई शुद्धीकरण गरिन्छ, पार्टीभित्र विचारलाई प्रधानता दिन छाडेर सबै गुटहरुको अन्त्य गरिनेछ र सबै नेता कार्यकर्तालाई समान व्यवहार गरिनेछ । कसैलाई भेदभाव गरिँदैन । पार्टीलाई राम्रो बनाएपछि वैद्य, विप्लव, बाबुराम सबै आउँछन् । आउन बाध्य हुन्छन् । एमालेबाट पनि एमाओवादीमा मानिसहरु आउँछन् र यो पार्टी दुई वर्षमा देशकै सबैभन्दा ठूलो बन्छ । ठूलो पार्टी बनाउनेबारे प्रचण्डले प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई सुनाएका योजनाहरु यिनै हुन् । तर, के यस्तै सतही कुराले मात्रै दुई वर्षमा प्रचण्डले आफ्नो दललाई कांग्रेस र एमालेभन्दा ठूलो पार्टी बनाउन सम्भव होला ? के आधारमा प्रचण्डका पछि लाग्लान् नेपाली जनता ? माथि भनेकै आधारमा मात्रै एमाओवादीले साथ पाउला ? आउनुहोस् यी प्रश्नहरुमाथि विवेचना गरौं । प्रचण्डले इटहरीमा भनेका छन्-‘बुझिराख्नुहोला, प्रचण्ड महात्वाकांक्षी मान्छे हो ।’ पहिलो कुरा त ठूलो पार्टी बनाउने भनेको समाज र जनताको आवश्यकताले हो, नेताको महत्वाकांक्षाले होइन । पार्टीको औचित्य समाजमा स्थापित भएन भने ठूलो पार्टी पनि सानो हुँदै जान्छ । नेपालमा दक्षिणपन्थी पुँजीपतिहरुको पार्टी नेपाली कांग्रेस छँदैछ, मध्यम वर्गका वामपन्थीहरुको पार्टी एमाले छँदैछ । दरबारिया ‘राष्ट्रवादी’हरुको पार्टी राप्रपा नेपाल पनि छँदैछ । जनजातिको ठाउँमा अशोक राई र लिम्बुवान लगायतका समूहहरु छन् । मधेसी समुदायका पनि बेग्लै पार्टीहरु छन् । थारुहरुका आफ्नै पार्टी छन्, अखण्ड सुदुर पश्चिमलगायतका क्षेत्रीय पार्टीहरु पनि छन् । विगतको माओवादी जनयुद्धको लिगेसी बोकेको विप्लवका, वैद्यका बेग्लै पार्टी छन् । यी विभिन्न पार्टी र सामाजिक समूहहरुको भीडमा प्रचण्डको नेतृत्वमा अलग्गै पार्टी किन र केका लागि चाहियो ? यो प्रश्नको औचित्य सावित गर्न सके भनेमात्रै प्रचण्डले आफ्नो दललाई पहिलो दल बनाउने सम्भावना रहन्छ । दोस्रो, यतिबेला प्रचण्डलाई संविधान बनाउनुभयो भन्दै कतिपयले बधाइ दिएर मख्ख पारे पनि छिट्टै फुर्किने प्रचण्डको पार्टीभित्रको हालत कहालीलाग्दो छ । जतिसुकै वर्गको कुरा गरे पनि प्रचण्डलाई जातिवादी राजनीतिको दाग लागिसकेको छ । एमाले र कांग्रेसले चुनावका बेला यो हतियार प्रचण्डमाथि प्रहार गर्न छाड्ने छैनन् । त्यसैले अब जातीय कुरो छाडेर जतिसुकै वर्गको कुरो गरे पनि प्रचण्डको पार्टीमा श्रमजीवी वर्गको वा मध्यम वर्गको आकर्षण हुने देखिँदैन । पुँजीपति वर्ग झनै एमाओवादीमा आउने कुरै भएन । विगतमा गरिएको तडक-भडक र विलासी जीवनशैलीका कारण प्रचण्डको वर्गीय पक्षधरतामा जनताले पत्याउने स्थिति छैन । अहिले एमाओवादी नेताहरुको आर्थिक स्रोत र रहन-सहनमा सर्वहाराकरण एवं पारदर्शिता छैन । माथिदेखि तलसम्म सिंगो पार्टी भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । अहिलेसम्म एमाओवादी नेतालाई निजी घर बनाउन नदिने अव्यवहारिक नीतिका कारण एमाओवादी नेताहरु महंगो फ्ल्याटमा भाडा तिरेर बसिरहेका छन् । प्रचण्ड नेतृत्वको एमाओवादी श्रमजीवी जनताको नभएर कमिसनखोरहरुको पार्टी बनेको छ । एमाओवादीका मजदुर नेताहरुले कसरी मालिकसँग मिलेर कमिसन खाए भन्ने हेर्दा पुग्छ उनीहरुको वर्गप्रेम । त्यसैले अब एमाओवादीले श्रमजीवी र मेहनतकश जनताको प्रतिनिधिको भूमिका खेल्ने सम्भावना देखिँदैन । तेस्रो- प्रचण्डसँग यतिबेला आदिवासी, जनजाति, मधेसी, दलित र थारुहरुको समेत विश्वास गुमेको छ । पहाडिया खस क्षेत्रीबाहुनहरुले त एमाओवादीलाई उहिल्यैदेखि जातिवादी भनेकै हुन् । तर, अब प्रचण्डको पार्टीलाई न पहाडेले, न मधेसीले, न त आदिवासी जनजातिले नै पत्याउने स्थिति छ । न पुँजीपतिले, न सर्वहारा सुकुम्वासीले विश्वास गर्ने स्थिति छ । जातीय अधिकारको मुद्दा छाडेको एमाओवादी वैचारिक धरातलको हिसाबले पेण्डुलम अवस्थामा पुगेको छ । जनयुद्धकालका पीडित कार्यकर्ताहरु पनि वैद्य र विप्लवतिर छन्, उनीहरु एमाओवादीको नाम लिँदा नमीठो अनुभव गर्छन् । पूर्वलडाकूहरु अरबमा पुगेका छन् । देशमा भएकाहरु रोएर बसेका छन् । प्रश्न गम्भीर छ, प्रचण्डले कसको साथ लिएर ठूलो पार्टी बनाउलान् ? चौथो-कांग्रेस र एमालेले संविधानसभामा एमाओवादीका एजेण्डालाई पराजित गर्न र आफ्ना एजेण्डा समावेश गर्न सफल भएकाले दुई वर्षमै कांग्रेस र एमालेलाई हराएर आफू पहिलो दल बन्न प्रचण्डलाई कतैबाट पनि सहज देखिँँदैन । प्रचण्ड हारेको र कांग्रेस एमालेले जितेको अवस्था छ । पाँचौं-पार्टीको तत्कालीन कार्यनीति एवं संगठन सञ्चालनको हिसाबले पनि प्रचण्ड असफल देखिइसकेका छन् । जस्तो-शान्ति प्रक्रियापछि बनेको ठूलो दल उनले बचाउन सकेनन् र पार्टी विभाजन भयो । आर्थिक हिसाबले पनि प्रचण्ड अपारदर्शी देखिए । कोषाध्यक्षका आधारमा भन्दा पनि श्रीमतीलाई पैसा राख्न दिएर पार्टी चलाउने परिपाटी चलाए । भ्रष्टाचारविरोधी अभियान चलाउने नैतिक बल पनि प्रचण्डले गुमाएका छन् । खिलराजलाई सरकार जिम्मा लगाउँदा होस् या दोस्रो संविधानसभाको परिस्थिति मूल्यांकन गर्नेमा, प्रचण्ड चुके । यो सबै परिघटनालाई हेर्दा प्रचण्ड चतुर नभएर संसदीय राजनीतिमा कमजोर खेलाडीकारुपमा चित्रित भएका छन् । छैठौं-अहिले संविधान बनिसकेपछि पनि प्रचण्डले अत्यन्तै कच्चा खेल खेलिरहेका छन् । प्रचण्डको दिमागमा राजनीतिक श्रेष्ठता हासिल गर्ने कुनै योजना छैन । राजनीतिमा उनले आफ्नोतर्फबाट एजेण्डा सेटिङ गर्न र आफूले गरेका कामको स्वामित्व लिन सकिरहेका छैनन् । यस्ता कमजोर खेलाडीले कसरी एमाले र कांग्रेसजस्ता चलाख दलहरुलाई उछिन्लान् ? फेरि यो स्मरणीय पनि छ कि तर्क र चतुर्‍याइँले मात्रै राजनीतिमा जितिँदैन, राजनीतिमा स्पष्ट वर्गीय पक्षधरता चाहिन्छ । पार्टीको औचित्य समाजमा स्थापित हुन सक्नुपर्छ । तेस्रो शक्तिको ठाउँ खाली छ, तर…. के यो देशमा कांग्रेस र एमालेको विकल्प जरुरी छैन ? अवश्यै छ । यी दुई दलको विकल्प जनताले विगतमा पनि खोजेकै हुन् । यही कारणले माओवादीलाई जनताले पहिलो दल बनाएका पनि हुन् । तर, प्रचण्डले जनतालाई विकल्प दिनुको साटो आफ्नो पार्टीलाई पनि ‘भाइ कांग्रेस’ वा ‘भाइ एमाले’ जस्तै बनाए । बनाइरहेका छन् । कांग्रेस र एमालेजस्तै पार्टी बनाउने हो भने किन चाहियो अर्को दल ? यही भएर दोस्रो संविधानसभामा पुरानै शक्ति मौलाए, एमाओवादी पुनः मुसो भयो । अब पनि प्रचण्डले केपी ओलीकै जस्तो कुरो गर्ने, कांग्रेस र एमालेकै जसरी उनै वर्गको वकालत गर्ने हो भने उनको दल पहिलो बन्नुको साटो सीपी मैनालीको नेकपा मालेजस्तो खुम्चने सम्भावना रहन्छ । ‘हिरो’ बन्ने कि केपी ओलीको कार्यकर्ता ? प्रचण्डले आफूलाई हिरो बनाउने हो भने अहिले पनि ठाउँ सकिएको छैन । अहिले पनि प्रचण्डले निराश भइहाल्नुपर्ने स्थिति छैन । आफूलाई हिरो बनाउने हो भने प्रचण्डले गर्नुपर्ने केही काम बाँकी छन् : एक– प्रचण्डले आफ्नो वैचारिक धरातल के हो, त्यसलाई समाउनुपर्छ । जस्तो कि जनयुद्धमा घाइते बनेका वा परिवार गुमाएकाहरुलाई सर्वप्रथम व्यवस्थापन गर्ने र उनीहरुलाई न्याय दिने कामलाई प्राथमिकता दिने बेला हो यो । यसका लागि अहिले सरकार गठन हुन लागेको मौकामा एमाओवादीले केपी ओलीको कार्यकर्ता बनेर उनलाई अन्ध समर्थन गर्नुको साटो केही शर्तहरु अघि सार्‍यो भने द्वन्द्वपीडितलाई न्याय दिलाउने गरी सत्तापक्षसँग सम्झौता हुन सक्छ । र, यसले एमाओवादीप्रति पूर्वलडाकू एवं कार्यकर्ताहरुको भावनात्मक निकटता बढ्छ । संविधान बनिसक्दा पनि जनयुद्धका पीडितले न्याय नपाउने हो भने ओलीलाई नै किन सघाउने ? यसको हिसाब नगरी प्रचण्डले समर्थन जनाए भने ओलीले माया गरेर उनको पार्टीलाई दुई वर्षमा पहिलो दल पक्कै बनाइदिँदैनन् । दुई– मधेसी, थारु, मुस्लिम, जनजाति एवं उत्पीडित समुदायको मुद्दा छाडे भने प्रचण्ड घरको न घाटको हुनेछन् । अहिले मधेस आन्दोलन भइरहेका बेला प्रचण्डको भूमिका कांग्रेसको भन्दा दक्षिणपन्थी देखिएको छ । शायद यही देखेर उपेन्द्र यादवले प्रचण्डलाई ‘ओलीको कार्यकर्ता’ भनेका हुन सक्छन् । प्रचण्डले अहिले एमालेजस्तो होइन, प्रचण्डजस्तो देखिन जरुरी छ । अहिले प्रचण्डको पार्टी यस्तो ठाउँमा छ कि उसले समर्थन नगरी कांग्रेस र एमालेको दाल गल्नेवाला छैन । यस्तो बेलामा प्रचण्डले मधेसी र थारुलाई सहमतिमा नल्याउने हो भने सरकारमा कसैलाई नसघाउने भनेर अडान लिए के हुन्छ ? प्रचण्डले आफू प्रचण्डै बनेर भूमिका खेल्ने हो भने देशको समस्या तीन दिनमा समाधान हुन्छ । र, यसो गर्दा प्रचण्डलाई मधेसी र थारुहरुले पनि धन्यवाद दिनेछन् । प्रचण्डको उचाइ राजनेताका रुपमा स्थापित हुनेछ । तर, प्रचण्ड यतिबेला अत्यन्तै सतही कुरा गरेर केपी ओलीको लाचार छायाँका रुपमा प्रस्तुत भइरहेका छन् । प्रचण्डको यही लाचारीका कारण मुलुकले निकास पाउन सकिरहेको छैन । आखिर प्रचण्ड कसका नेता हुन् ? कसका नेता हुन खोज्दैछन् ? उनले केपी ओलीकै जस्तो स्वरुप देखाउने हो भने प्रचण्ड र उनको दल जनतालाई किन चाहियो ? तर, यतिबेला देशमा प्रचण्डको फरक भूमिका देखिन छाडेको छ । बरु प्रचण्डभन्दा कांग्रेस नेता महेश आचार्यहरुले थारु र मधेसीप्रति न्याय गर्नुपर्ने कुरा गरिरहेका छन् । यो बिडम्बना होइन र एमाओवादीका लागि ? तीन– एमाओवादीले राष्ट्रिय सहमति र एकताको कुरा गरेको छ, यो राम्रो हो । तर, सरकारमा जान एमाओवादी नेताहरु खुट्टा उचालेर बसेका छन् । मुलुकमा प्रतिपक्षी दल नै नभएको जस्तो अवस्था छ । विगतले भन्छ- सरकारमा गएर एमाओवादीले गर्ने काम भनेकै भ्रष्टाचार हो । के एमाओवादीले यतिबेला मधेसको समस्या समाधान नगरी, थारुहरुलाई सरकारमा नल्याई, भूकम्प पीडितको राहतका लागि ठोस कार्यक्रम नबनाई, जस्तामा भएको भ्रष्टाचारको छानविन गरी, अनि जनयुद्धका पीडितहरुलाई राहतको प्याकेज नल्याई सरकारमा जान्न भनेर अडान राख्न सक्छ ? यदि सकेन भने उपेन्द्र यादवले भनेको उपमा ठिकै ठहरिने छ कि प्रचण्ड ओलीका इमान्दर कार्यकर्तामात्रै हुन् । तर, देशले खोजेको छ भ्रष्टाचारमा लिप्त कांग्रेस र एमालेको खबरदारी गर्ने इमान्दार प्रतिपक्ष । अब प्रचण्ड हिरो बन्छन् या एमालेको लाचार छायाँ ? शुक्रबार बिहान प्रचण्ड निवासमा बस्ने पार्टीको पदाधिकारी बैठकले शायद फैसला गर्ला ।  

कोई टिप्पणी नहीं: