गुरुवार, 8 अक्तूबर 2015

दिल्लीले सबै जातजातिको समस्या हल गर्नुमै भारत र नेपालको हितमा छ भन्यो : राजदूत उपाध्याय !

दीपकुमार उपाध्याय

दिल्लीले सबै जातजातिको समस्या हल गर्नुमै भारत र नेपालको हितमा छ भन्यो : राजदूत उपाध्यायभारतका लागि नेपाली राजदूत

नयाँदिल्लीमा नेपाली राजदूत दीपकुमार उपाध्यायको दौडधुप बाक्लिँदो छ । राजनीतिक नेतृत्व, सुरक्षा निकाय तथा विदेश मन्त्रालयका अधिकारीसँग उनको औपचारिक, अनौपचारिक भेटवार्ता चलिरहेको छ । भारतले पछिल्लोपटक लगाएको अघोषित नाकाबन्दी हटाउने प्रयासमा लागेका उपाध्यायसँग नेपाल–भारत सम्बन्धको पछिल्लो अवस्थाबारे नयाँदिल्ली बाह्रखम्बा रोडस्थित निवासमा पर्शुराम काफ्लेले गरेको कुराकानी:
संविधान जारी भएपछि भारतले आक्रामक प्रतिक्रिया जनायो । तर, त्यसअघि पनि तपाईंले दिल्लीको राजनीतिक र कूटनीतिक बृत्तमा कुराकानी गरिरहनुभएको थियो । तपाईंले सुरुमा अनुमान गरेजस्तै अहिले परिस्थिति निर्माण भएको हो कि त्योभन्दा फरक ?
मैले दिल्लीमा काम थालेको धेरै भएको थिएन, नेपालमा ठूलो भूकम्प आइलाग्यो, जसमा भारतले उदारतापूर्वक सहयोग गर्‍यो । आमनेपाली जनताले त्यो उदारताको उच्च प्रशंसा पनि गरे । भारतसँग हाम्रो परम्परागत सांस्कृतिक सम्बन्ध, रीतिरिवाज जोडिएको हुनाले पनि त्यो हार्दिकता प्राप्त भयो । राजदूतका रूपमा विभिन्न निकायमा मेरो भेटघाटका चरणहरू हुँदै थिए । कुराकानीका क्रममा भारतीय मित्रहरू भन्नुहुन्थ्यो, ‘संविधान निर्माण नहुँदा नेपाल अप्ठेरोमा पर्योि । इतिहासमा यो बिरलै आउने अवसर हो । पहिलो संविधानसभा बिग्रियो, अब संविधान बनोस्, हामी तटस्थ भूमिका निर्वाह गर्छौं ।’ संविधान बनाउने वेला सकभर सबैको सहमति लिनुस्, अधिकतम सहमति भयो भने भविष्यमा द्वन्द्व बढ्नेछैन भन्नेमा उहाँहरूको जोड हुन्थ्यो । सबै जातजाति, भाषाभाषीको समस्यालाई सम्बोधन भयो भने द्वन्द्व आउनेछैन, हाम्रो (भारतको) र नेपालको हित त्यसैमा छ भन्नेमा उहाँहरू जोड दिनुहुन्थ्यो ।

म पत्याउनै सक्दिनँ, भारतीय राजनीतिक नेतृत्वले नेपाली जनताले दु:ख पाऊन् भनेर सोच्छ । उनीहरूको सोचाइ यो छँदै छैन । यो अचम्मको परिस्थिति आउनुमा यहाँको राजनीतिक नेतृत्वको त्यति भूमिका म देख्दिनँ, बरु कर्मचारीतन्त्रको असमझदारीबारे अध्ययन हुनुपर्छ भन्ने मलाई लाग्छ ।
यो वा त्यो हुनैपर्छ भन्ने उहाँहरूको स्पष्ट केही थिएन । अन्तिमतिर मलाई उहाँहरूले स्पष्ट भन्नुभएको थियो कि दुईतिहाइ त कम्तिमा चाहियो नै, त्योभन्दा जति धेरैबीच सहमति गर्न सक्नुहुन्छ गर्नुस्, तर संविधान जारी गर्नुस् । स्थिर र समृद्ध नेपालबाहेक अरू स्वार्थ छैन भन्ने नै उहाँहरूको प्रस्ट कुरा थियो । म पनि ढुक्क थिएँ । तर, पछि आएको प्रतिक्रियाबाट म हतप्रभ भएँ किनभने मैले अपेक्षा गर्दै नगरेको कुरा भइदियो ।
म त राजनीतिक व्यक्ति भएकाले राजनीतिक तहको कुराकानीबाट म विश्वस्त भएको थिएँ । प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एक्कासि नेपाल जानुभयो । मेरो पनि एउटा कमजोरी भयो, म त्यसवेला काठमाडौं जानुपथ्र्यो । मैले पहिला पनि भारतीय मित्रहरूलाई सोध्थेँ, लौ केही छ तपाईंहरूको भने भन्नुस् है ।’ तपाईंहरूका सल्लाह सुझाब केही छन् भने मलाई भन्नुभए हुन्छ भन्दा उहाँहरूको जवाफ आउँथ्यो, ‘हाम्रो ठोस केही छैन । नेपालमा शान्ति, स्थिरता होस्, उन्नति होस् भन्ने मात्रै छ ।’ म विश्वस्त भएको थिएँ । तर, प्रतिक्रिया अनपेक्षित रह्यो । दुईतिहाइभन्दा बढी मतले संविधान पारित गर्दा अत्यन्तै उपयुक्त हुन्छ, प्रजातान्त्रिक हुन्छ भनिरहेको भारत सरकारले फेरि कसरी अनायासै अनपेक्षित प्रतिक्रिया दियो, मैले बुझ्न सकेको छैन । मलाई भनिएको पनि छैन । तर, विगतमा जे भए पनि अब सकारात्मक रूपमा समस्याको हल गरेर जानुपर्छ भन्नेमा म दृढ छु ।
मलाई थाहा छ कि हाम्रो परराष्ट्र मन्त्रालयको संयन्त्र अपेक्षित रूपमा प्रभावकारी बनाउन सकिएको छैन । हामीले परराष्ट्र नीति तय गर्न बाँकी नै छ । भारतमा अहिले बलियो सरकार छ । सरकारको उच्च नेतृत्वसँग पनि मेरो बारम्बार कुराकानी भइरहेको छ । म पत्याउनै सक्दिनँ, भारतीय राजनीतिक नेतृत्वले नेपाली जनताले दु:ख पाऊन् भनेर सोच्छ । उनीहरूको सोचाइ यो छँदै छैन । यो अचम्मको परिस्थिति आउनुमा यहाँको राजनीतिक नेतृत्वको त्यति भूमिका म देख्दिनँ, बरु कर्मचारीतन्त्रको असमझदारीबारे अध्ययन हुनुपर्छ भन्ने मलाई लाग्छ । यसलाई समाधान गरेर जानुको विकल्प छैन ।
भारतीय नेताहरू भन्छन्, ‘बुरा सपना कभी कभी आ जाए तो भुल जाए आप । बुरा सपना को क्युँ ले के चले ?’
प्रधानमन्त्री नरेन्द्र मोदीसँग तपाईंको पछिल्लो भेटको सन्देश के थियो ? उहाँ स्वयं दुईतिहाइभन्दा बढी मतबाट संविधान जारी होस् भन्ने चाहनुहुन्थ्यो ?
नरेन्द्र मोदीजी नेपालप्रति सकारात्मक हुनुहुन्थ्यो र हुनुहुन्छ । यसमा मलाई कहीँ कतै द्विविधा छैन । उहाँसँग मेरो भेट हुँदा उहाँको नेपालप्रति सद्भाव पाएको थिएँ । छिमेकीलाई मिलाएर जानुपर्छ भन्नेमा उहाँ दृढ हुनुहुन्छ, त्यसमाथि पनि नेपालप्रति त मोदीजीको भावनात्मक सम्बन्ध छ । मोदीजीको जानकारीमा सीमा अवरुद्ध भएकोमा मलाई अहिले पनि विश्वास छैन । बरु यसबारे मोदीजीले ‘इन्क्वायरी’ गरिरहनुभएको छ भन्ने बुझेको छु । कुन तहको आदेशबाट यो भएको भन्नेमा उहाँहरू बुझ्दै हुनुहुन्छ । जेसुकै भए पनि नेपाली जनताले दु:ख पाएका छन् । यसमा सायद उहाँ पनि चिन्तित हुनुहुन्छ भन्ने मेरो बुझाइ छ ।
नेपालले सुरक्षा दिएर लान नसकेका कारण सामान रोकिएको हो, हाम्रो त्यस्तो नियत छैन भन्ने धारणा भारत सरकारका अधिकारीले राखिरहेका छन् । यसमा हाम्रो कमजोरी देख्नुहुन्छ तपाईं ? भोको मान्छेले खानेकुरा लान्नँ भन्छ र ?
पेट्रोलियम पदार्थ लैजानका लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सम्झौता छ । तर, सानातिना झमेला हुँदैमा अत्यावश्यक चिज रोकिनु हुँदैन । मानिसको ‘लाइफलाइन’ रोकिनु भनेको नेपाली र भारतीय दुवैले ठूलो पाठ सिक्नुपर्ने घटना हो । पछि यसको अनुसन्धान हुनुपर्छ । भारतीय नेताहरू भन्छन्, ‘बुरा सपना कभी कभी आ जाए तो भुल जाए आप । बुरा सपना को क्युँ ले के चले ?’ ग्राउन्ड रियालिटी अर्कै छ । नेपाली जनताले दु:ख पाएका छन् । मेरो प्राथमिक दायित्व त नेपाली जनता र नेपालको हित हो । म सकारात्मक सोचको मान्छे, सकारात्मक रूपमा अघि बढौँ भन्ने सोच्छु । तर, सोचेको जस्तो नहुँदा अत्यन्तै दु:ख लाग्छ ।
काठमाडौं जाँदा नेपाली जनताले तेलका लागि पाएको दु:ख देख्दा मलाई बढो अप्रिय लाग्यो । दसैँ–तिहार र छठ आइसक्यो । यो वेला अझ संवेदनशील भएर हामी नयाँदिल्लीमा भारतीय अधिकारीलाई घच्घच्याइरहेका छौँ । एउटा बलियो पार्टी भाजपाका उच्च तहका नेताले नेपाली जनताको दु:ख हाम्रो चाहना होइन, अनपेक्षित घटना भयो भनिरहेका छन् । भारतीयहरू छिटै सल्टाउने हो भनिरहेका छन् । छिटै भनेको कहिले हो ? म सोधिरहेको छु । तपाईंतिरको अवरोध हटाउनुस्, हामीतिरको सुरक्षाको जिम्मा हामी लिन्छौँ भनेर म बारम्बार भनिरहेको छु । यो कुरा हामीले धेरै तहमा भनिरहेका छौँ । नेपालको अर्थतन्त्र डामाडोल अवस्थामा पुगेको छ । विद्यार्थीले पढ्न पाएका छैनन् । योजत्तिको अमानवीय व्यवहार वा असहजता अरू के हुनसक्छ ?
भारत र नेपाल दुवै ‘विन-विन’ परिस्थिति रहने गरी बन्दरगाह निर्माण गर्न सकियो भने हामीपछिको पुस्ताका लागि नेपाल स्वर्ग बनाउन सकिन्छ । उत्तरतिरको नाका कठिन छ । बंगलादेशबाट हवाई मार्गबाट तेल ल्याउन सम्भव छैन । त्यसका लागि पनि हामीले भारतकै भूमि प्रयोग गर्नुपर्छ ।
भारतले १९८९ मा पनि नाकाबन्दी लगाएको थियो । हामीले त्यसबाट पनि पाठ सिकेका रहेनछौँ भन्ने तपाईंलाई लाग्दैन ?
यो महत्त्वपूर्ण रणनीतिक विषय हो । राष्ट्रले आफ्नो हित प्रवर्द्धन गर्ने परराष्ट्र नीति नबनाउनुको परिणाम हो यो । वास्तवमा नेपाल यसरी सधैँ भूपरिवेष्ठित भएर बसिरहनुपर्ने अवस्था होइन । हाइड्यामको कुरा गरिरहेका छौँ हामी । ठूलो पानीजहाज आउन नसके पनि ‘वाटर वे’ बनाएर सानो पानी जहाजसम्म चलाउन र बन्दरगाह बनाउन सकिन्छ । यसतर्फ हामीले कहिल्यै सोच्न आवश्यकसम्म ठानेनौँ । भारत र नेपाल दुवै ‘विन–विन’ परिस्थिति रहने गरी बन्दरगाह निर्माण गर्न सकियो भने हामीपछिको पुस्ताका लागि नेपाल स्वर्ग बनाउन सकिन्छ । उत्तरतिरको नाका कठिन छ । बंगलादेशबाट हवाई मार्गबाट तेल ल्याउन सम्भव छैन । त्यसका लागि पनि हामीले भारतकै भूमि प्रयोग गर्नुपर्छ । वास्तवमा समस्या परेपछि मात्रै हामी यी विषयमा अलिकति जागरुक हुन्छौँ, अरूवेला मस्त निदाउने गरेका छौँ ।
तपाईंले पिटिआईमा चीनबाट पनि तेल ल्याउन सकिन्छ भन्नुभएको थियो, यो पनि त सम्भावना होला नि ?
मैले राष्ट्रिय स्वार्थ र आवश्यकता पूर्तिका लागि यो पनि एकटा विकल्प हुन सक्छ भनेको हुँ । हाम्रा लागि भारत पनि मित्र हो, चीन पनि मित्र हो । चीन जोड्ने हिमालयन टेरेन (शृंखला) हाम्रा लागि असजिलो छ । आज विश्व खुम्चिएको छ । चीन र भारतको दूरी पनि अहिले घटेको छ र दुवै उदीयमान अर्थतन्त्र भएका मुलुक हुन् । दुवैको विकसित स्वरुपबाट हामीले लाभ लिन कोसिस गर्नुपर्छ । यो रणनीति हामीले बनाउनुपर्छ भन्ने मलाई लाग्छ । म बडो सानो उदाहरण दिन चाहन्छु । हामीले तेलको भण्डार–गृह बनाउने कुरा यस्तो संकटका वेला धेरै हुने गर्छ । सकेदेखि तीन महिना, नभए ४५ दिनसम्म धान्ने गरी भण्डारण बनाउने भन्छौँ, तर प्राथमिकतामा भने कहिल्यै पर्दैन । यसका लागि सरकारको पैसा लाग्दैन । बैंकहरू पैसा दिन तयार छन् । आयल निगमले तिरिहाल्छ । निजी क्षेत्रले पनि खुलेर सहयोग गर्छ यसका लागि । यति सामान्य सोचको कार्यान्वयन गर्न पनि हामीले सकेका छैनौँ । यसपालि हामीलाई भूकम्पले सिकाएजस्तै भारतको अवरोधले पनि अर्को पाठ सिकाएको छ । हामीले प्रत्येक दु:खमा अवसर लुकेको हुन्छ भन्ने यथार्थ स्वीकार गर्दै चेत्नुपर्ने वेला आएको छ । राजनीतिकर्मी, जनता, प्रशासन सबै तहकाले पाठ सिक्नुपर्छ भन्ने मलाई लाग्छ ।
भारतका विदेश सचिव एस जयशंकर नेपाल भ्रमणमा प्रधानमन्त्रीको विशेष दूतका रूपमा जाँदा दिल्लीले तपाईंसँग सरसल्लाह वा छलफल गर्‍यो कि गरेन ?
त्यस्तो केही भएन । दिल्लीको भूमिका यहाँ मेरो अपेक्षाअनुसारको छैन । म त राजनीतिक व्यक्ति हुँ । म नेपाल–भारत सम्बन्ध प्रगाढ बनाउने र भारतको उदीयमान अर्थतन्त्रबाट संविधान निर्माण भइसकेपछि मुलुकको आर्थिक समृद्धिका लागि के कति लाभ लिन सकिन्छ भन्नेबारे अधिकतम प्रयत्न गर्ने हिसाबले यहाँ आएको हुँ । आर्थिक समृद्धि मेरो अहिलेको मूल एजेन्डा हो । म यो चुनौती स्वीकार गरेर आएको हुँ र मैले भनेको पनि छु । यस सन्दर्भमा मैले नेपाललाई जति प्रतिनिधित्व गर्न सक्छु, त्यति यहाँका नेतृत्व र अधिकारीलाई सल्लाह दिनसक्छु । नेपाल मामिलामा नेपालकै राजदूत आधिकारिक हुन्छ । भारत सरकारबाट समन्वयमा अलिकति कमी भएको हो । सायद अब यस्तो नदोहोरिएला भन्ने विश्वास छ मेरो ।
बिहेको भव्य तयारी भइरहेका वेला यो सम्बन्ध ठीक छैन भन्दा कस्तो सन्देश जान्छ ? त्यस्तै भयो, यसपालिको नेपाल–भारत सम्बन्ध ।
मैले भारतीय अधिकारीलाई पछि भनेँ पनि, संविधानमा केही सुझाब छन् कि भनेर सोध्दा ठीक छ भन्नुभयो । तपाईंहरूभित्र त्यत्रो गुनासो रहेछ । तपाईंहरू त्यसरी त्यो रूपमा (विशेष दूतको हैसियतमा) जानु ठीक थियो कि थिएन भन्नेबारे मैले नै सल्लाह दिन्थेँ होला । त्यसरी अन्तिम वेलामा विशेष दूत जानु उपयुक्त हुन्थ्यो कि हुँदैनथ्यो ? मानौँ, कसैको घरमा बिहाबारी छिनेर स्वयंवर गर्ने तयारी भइरहेका वेला गएर यस्तो उस्तो भनेर कहाँ रोकिन्छ ? कुरा छिन्नुभन्दा पहिल्यै भन्नुपर्थ्यो नि † बिहेको भव्य तयारी भइरहेका वेला यो सम्बन्ध ठीक छैन भन्दा कस्तो सन्देश जान्छ ? त्यस्तै भयो, यसपालिको नेपाल–भारत सम्बन्ध । दुई दिन त संविधान जारी प्रक्रिया रोकिएकै हो । त्यसबीच मधेसका साथीहरू वार्तामा बसिदिएको भए कुराकानी हुन्थ्यो, पाँच–दश दिन बढ्थ्यो, एउटा समाधान निस्किन्थ्यो होला । तर, जनतालाई दु:ख दिएर आफ्नो दुनो सोझिन्छ भन्ने म विश्वास गर्दिनँ । जनता महान् हुन् र उनको हृदयमा सबै कुरा गढेको हुन्छ ।
एस जयशंकर फर्किसकेपछि संविधान जारी भयो । भारतले यो हदसम्म गर्ला भन्ने सोच्नुभएको थियो ?
नेपालजस्तो सानो मुलुकमा यति धेरै सहभागितामूलक, लोकतान्त्रिक विधिबाट, समावेशी हिसाबले ९० प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेर बनाएको संविधानलाई ‘एक थान संविधान बनेको हामीलाई थाहा छ’ भन्नु हुँदैनथ्यो भारतले । त्यहीँबाट कुरा बिग्रियो । केही दिन मौन बसेको भए पनि हुन्थ्यो, हामीसँग छलफल गरेको भए पनि हुन्थ्यो । तर, अनपेक्षित घटना भयो । अब सुतेका वेला देखिएको सपनाको पछि जाने होइन, त्यसलाई छाडेर परिस्थिति सहज बनाउनेतिर लाग्नुपर्छ । यो घटना नेपाललाई मात्रै होइन, भारतलाई पनि ठूलो पाठ भएको छ ।
भारतीय अधिकारीले संविधानबारे रुखो प्रतिक्रिया दिएपछि तपाईंको भारतका उच्च पदाधिकारीसँग केके कुरा भयो ?
अब हामीमध्ये कोही पनि नकारात्मक कुरातिर जानु हुँदैन । व्यक्ति, सरकारभन्दा पनि नेपाल–भारत सम्बन्ध उच्च तहबाट बाँधिएको छ । जनस्तरको सम्बन्धमा सबै कुरा जोडिन्छ । मैले उहाँहरूसँग बारम्बार कुरा गरिरहेको छु । अनपेक्षित कुरा बिर्सौं, नेपाली जनताले दु:ख पाऊन् भन्ने हाम्रो चाहना वा आदेश होइन भनिरहनुभएको छ उहाँहरू पनि । उहाँहरू छिटोभन्दा छिटो सुल्झाऊँ भनिरहनुभएको छ, मैले सोधिरहेको छु, त्यो भनेको के हो ? हामी चाडपर्वको मुखमा छौँ । जनताले घर–परिवारलाई भेट्न पाउने कि नपाउने ? पुस्तौँपुस्तासम्म समस्या हुन्छ, यदि अहिलेको समस्याले छिटोभन्दा छिटो किनारा पाएन भने । हामीलाई जनताले थुक्क भन्लान्, श्राप देलान् भन्ने चिन्तामा छु । मैले नेपालमा असन्तुष्ट पक्षहरूसँग पनि भनिरहेको छु, जनतालाई दु:ख दिएर केही हुँदैन । अति भयो ।’
तपाईं वार्ताको वातावरण बनाउन काठमाडौं जानुभएको थियो, परिणाम त आएको छैन नि ?
डेढ महिनादेखि मधेसमा आन्दोलन भइरहेको थियो, समयमै सम्बोधन हुनुपथ्र्यो । हुन नसक्नु कमजोरी हो । अब सम्बोधन हुन्छ भन्ने लागेको छ । अहिले सरकार उदारतापूर्वक अघि बढेको छ । क्षतिपूर्ति, घाइतेलाई उपचार, सुरक्षा निकायलाई रक्षात्मक बनाउने कुरा, पक्राउ परेकामध्ये ठूलो अपराधबाहेकलाई मुद्दा मिलाएर रिहाइ गरिदिने कुरामा सरकार लचिलो छ । जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउने कुरा, समानुपातिक प्रतिनिधित्वको विषयमा सरकार सम्बोधन गर्ने क्रममा छ । अन्तरिम संविधानमा भएको तर पछि नयाँ संविधानमा हटेका कुरामध्ये सीमांकनबाहेक अरू धेरै कुरा मिलिसकेको मैले पाएको छु । सीमांकनलगायत विषयमा पनि कुराकानी चलिरहेको छ । देश हाम्रो हो, यसलाई कसरी सुन्दर बनाउने भन्नेतिर पनि हामी नै लाग्नुपर्छ । यो भएन, त्यो भएन भनेर अत्तो थापेर हुँदैन ।
मधेसकेन्द्रित पार्टीहरूको खास सरोकार तपाईंले के बुझ्नुभयो ?
म भेट्न जाँदा मलाई मजाक गरेर उहाँहरूले भन्नुभयो, ‘तपाईं सरकारको प्रतिनिधि हो ?’ मैले भनेँ, ‘सरकार पनि तपाईं–हामीजस्तै त हो । तर, म तपाईंको परिवारको सदस्यका रूपमा आएको हुँ । हिजो सँगै थियौँ होला, अहिले भूमिका फरक छ । तर, देश हाम्रो हो, जनता हाम्रा हुन् । जनतालाई प्रताडित नबनाऊँ ।’ वार्ताको कुरा अगाडि बढ्यो । मेरो चाहनाले मात्रै होइन, धेरै कुरा मिलेर वार्ता अघि बढ्यो । हेर्नुस्, म त आध्यात्मिक मानिस हुँ, केही कुरा हुनुमा कारण मात्रै हामी हौँ । आन्तरिक द्वन्द्वको समाधान चाँडै होस् भन्ने धेरैको चाहना थियो । अब सकारात्मक दिशातिर अघि बढिरहेको छ ।
तपाईंले एक सातायता राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश मन्त्रालयका उच्च अधिकारीलाई भेट्नुभयो । उनीहरूको मुड के पाउनुभयो ?
अघिल्लो शुक्रबार म काठमाडौंबाट आउँदा मैले एयरपोर्टबाटै अजित डोभालजीलाई फोन गरेँ । उहाँले पनि जरुरी छ भन्नुभयो । एयरपोर्टबाट ओर्लनासाथ भेट्ने कुराकानी भयो, साँझ घन्टौँ बसेर कुराकानी गरियो । विदेश मन्त्रालयका अधिकारीसँग पनि सोमबार राम्रो कुराकानी भयो । नकारात्मक प्रचार भएछ, त्यस्तो असहज थिएन । भारतले स्पष्ट भनेको छ कि यो अनपेक्षित घटना हो, छिटोभन्दा छिटो समाधान गर्नुपर्छ, सुल्झाउनुपर्छ । उसले यस्तो भनिरहेको अवस्थामा नकारात्मक कुरा किन सोच्ने ?
अघोषित नाकाबन्दीका पछाडि भारतको राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको ग्याप पनि जिम्मेवार छ ?
अलिकति ‘इगो’को समस्या हो । मैले कुनै कुरा अन्तिममा भनेँ तर नमानेको अवस्थामा लौ त भन्ने अवस्था आएको हो कि भन्ने मलाई लागेको छ । यो हामीले मनन गर्ने, बुझ्ने कुरा हो । भारतीय अधिकारीले हामी आइन्दा यस्तो गर्दैनौँ, नेपाली जनतालाई चित्त दुख्ने काम गर्दैनौँ भनेका छन् । हामीले पनि यस्तो ग्याप आगामी दिनमा हुँदैन भनेका छौँ । उनीहरूले आमजनतालाई असर पर्ने कार्य हामीबाट हुँदैन भनेका छन् ।
तपाईं प्रधानमन्त्री मोदीसित भेट्न खोज्दै हुनुहुन्छ, केके कुरा राख्नुहुन्छ ?
नेपालमा मोदीजीको लोकप्रियताको ग्राफ ९० प्रतिशतभन्दा माथि थियो । अहिले त्यो निकै घटेको छ । दु:ख पाएको मानिस रुन्छ, कराउँछ । सकारात्मक हिसाबले त रुने कराउने हुँदैन नि † त्यसैका आधारमा भारतको विरोध बढ्यो, नेपाललाई जति गरे पनि हुन्न भन्ने कुराले काम गर्दैन । नेपालीहरू भावनात्मक छन् । दु:ख पाएका वेला दु:खी हुन्छन् भने सुख हुँदा छिटै उत्साहित हुन्छन् । मोदीजीसितको भेटमा म अहिलेको अवस्थाबारे विस्तृतमा राख्छु ताकि असमझदारी भविष्यमा नदोहोरियोस् ।
समस्याको चाबी नेपालमा छ, भारतबाट अवरोध भइरहेको छ । यो विरोधाभासलाई कसरी हेर्नुभएको छ ?
आन्तरिक रूपमा हामीले घर मिलायौँ भने कसैले केही भन्दैन । त्यसका लागि पहल पनि भइरहेको छ । भारतसँग पनि कुराकानी भइरहेको छ । मोदीजीले न्यानो हात अघि बढाएको अवस्थामा नेपालतिर त्यो न्यानोपन आउन सकेन कि भन्ने विषयमा ‘रिभ्यु’ गर्नुपर्छ । अरू देशले विकासमा भारतको ‘लाइन अफ क्रेडिट’बाट धेरै गरेका छन्, हामीले गर्न सकेका छैनौँ । प्रधानमन्त्री मोदीजी सायद चिन्तित हुनुहुन्छ कि किन हामीले केही गर्न सकेनौँ ? नेपाल छिटो अघि बढोस् भन्ने कुरा कहाँ रोकियो ? भारतले डिपिआर सकिएका जुनसुकै प्रोजेक्ट होस्, ल्याउनुस् अघि बढौँ भनिरहेको छ । हामीले यसमा केही गर्न सकेका छैनौँ । यस्तो अवस्थामा हामीले यसको सदुपयोग कुनै हालतमा गर्नुपर्छ । हामी आर्थिक रूपमा समृद्ध हुन भारतसँग मिलेर जानैपर्छ । अव्यावहारिक कुरा गरेर फाइदा हुँदैन, कुरा सुन्न मजा लागे पनि । हामी तीनतिर भारतबाट घेरिएका छौँ । यो यथार्थ हामी सबैले भुल्नु हुँदैन ।
भारतले समग्र नेपालसँग होइन, एउटा खण्डसँग डिल गरेका कारण पनि अहिलेको समस्या आएको हो ?
भारतमा तीन करोडभन्दा बढी नेपाली मूलका भारतीय जनता छन् । तर, हामी उहाँहरूबारे चासो दिँदैनौँ र चासो दिएर साध्य पनि हुँदैन । भारत ठूलो देश हो । नेपालसँगको सिमाना खुला छ । त्यही कारण कहिलेकाहीँ अनपेक्षित कुरा हुन्छन् । तर, उनीहरू भन्छन्, हामीले सरकार–सरकारबीचमै कुराकानी गर्ने हो । देशभित्रको सानो युनिटसँग डिल गर्ने होइन, कहिलेकाहीँ कुनै घटनाविशेषले होला । तर, मूल रूपमा हुँदैन । संविधान निर्माणका वेला सिमानातिरको ‘सेन्टिमेन्ट’लाई मिलाएर लैजानुहोला भन्ने सुझाव सामान्य हो । तर, त्यसैमा नाका नै डुबाएर लाग्ने भन्ने होइन । उनीहरूले ‘माइक्रो मेनेजमेन्ट’मा पस्दैनौँ भनेका छन् । नेपाल र भारतबीच दश–बाह्र वर्षयता राजनीतिक तहमा सम्बन्ध निरन्तर नहुँदा केही अप्ठेरो भएको हो । भारतका अहिले गुनासो छ, जति गरे पनि नहुने । तर, विगत हेरौँ, कस्तो गरियो ? पार्टीभित्र पनि पार्टी हुने, पार्टीहरू भत्किने, बन्ने विगत सम्झिँदा भारतलाई पनि तनाव होला । अहिलेको हाम्रो समग्र मामिलामा भारतले चाहिँदो भन्दा बढी नै चासो राख्यो भने यो ‘लुजर गेम’ हुन्छ भन्ने छ । भारतलाई तीतो अनुभव त श्रीलंकासँग छ । श्रीलंकासँग समुद्र छ, हामीसँग छैन । नेपालमा द्वन्द्व भयो भने त्यसको आगोको पहिलो ज्वाला दक्षिणतिरै आउँछ, तिब्बततिर जाँदैन । यसको राम्रो अनुभव उहाँहरूमा हुनुपर्छ ।
भारतबाट सिर्जना भएको गतिरोधपछि तपाईंलाई दिल्लीमा भेटवार्ताका लागि अप्ठेरो अवस्था आएको छ कि छैन ?
नेपालमा भारतीय राजदूतलाई हाम्रो कूटनीतिक आचार, व्यवहारभन्दा अलग्गै व्यवहार हुन्छ । यहाँ भारतीय अधिकारीहरू मलाई भन्छन्, ‘तपाईंलाई पनि त दिल्लीमा त्यस्तै हो ।’ हामी एकअर्काको विश्वास जित्दै जाने हो । दिल्लीमा दुई सयभन्दा बढी दूतावास छन् । राजदूतले यहाँ मन्त्री भेट्ने भनेको बिरलै हुन्छ । नेपालमा जस्तो राजदूतले भेट्न खोजे भन्दैमा भेट्ने भन्ने पनि हुँदैन । मलाई भारतीय अधिकारीले यहाँ सुविधा दिएका छन् । तपाईंको हकमा भेटवार्ताका लागि अन्यथा हुँदैन, अरूलाई छुट दिएका छैनौँ भनेका छन् । दिल्लीमा परराष्ट्र मन्त्रालयमार्फत बाहेक भेट्न मिल्दैन, त्यसरी भेट्दा कूटनीतिक मर्यादा उल्लंघन भएको मानिन्छ । नेपालमा भारतीय राजदूतलाई हामीले त्यो ‘स्पेस’ दिएका छौँ, हार्दिकताका कारणले गर्दा । मलाई अहिले यहाँ अवस्था सहज छ ।
यो घटनाबाट सिक्नुपर्ने पाठ के हो ?
कमी–कमजोरीलाई मनन गरौँ, गल्ती भएको ठाउँमा महसुस गरेर अघि बढौँ । आगामी दिनमा फेरि यस्तै गल्ती नगर्ने संकल्प नगरेर दुवै देश अघि जानुपर्छ भन्ने मेरो बुझाइ छ ।
नयाँ पत्रिका दैनिक (असोज २१, २०७२) बाट ।

कोई टिप्पणी नहीं: