गुरुवार, 11 फ़रवरी 2016

कोलकाता बन्दरगाहबाट ३ दिनदेखि नेपालतर्फ कन्टेनर ढुवानी ठप्प


माघ २८ - भारतस्थित कोलकाता बन्दरगाहमा ‘दादागिरी शैली’ मा मुलुकतर्फ ढुवानीमा अवरोध सिर्जना गरिएको छ । बन्दरगाहबाट सडक मार्ग हुँदै हुने ढुवानी सोमबारयता रोकिएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष प्रदीप केडियाका अनुसार कोलाकाता बन्दरगाहमा सडक मार्गका लागि ट्रक र टेलर उपलब्ध गराउँदै आएको त्यहाँस्थित ‘इन्डो नेपाल ट्रक टेलर्स एसोसिएसन’ ले अवरोध खडा गरेको हो । एसोसिएसन आबद्ध व्यवसायीले सोमबारदेखि बन्दरगाहको मूल गेटमा टेन्ट गाडेर नेपालका लागि कन्टेनर तथा बल्क कार्गो मालसामान बोक्ने मालवाहक ट्रकलाई बन्दरगाहमै प्रवेश गर्न दिएका छैनन् । 
भाडा र जरीवाना रकम वृद्धिका लागि दबाब दिन दुई दिनदेखि उनीहरूले यसरी अवरोध खडा गरेर नेपाल तर्फको ढुवानी अवरुद्ध पारेका हुन् । एसोसिएसनले नेपालका लागि हुने ढुवानीमा ट्रक र टेलरको क्षमताअनुसार डिटेन्सन २ हजारदेखि ३ हजार भारतीय रुपैयाँ र खाली कन्टेनरको रिटर्निङ शुल्क २ हजार ५ सय हुनुपर्ने माग अघि सारेको छ । यसअघि यही जनवरी १० मा डिटेन्सन र रिटर्निङ शुल्क वृद्धि गरिएकाले व्यवसायीको माग अनुचित भएको कोलकातास्थित एक क्लियरिङ एजेन्टले टेलिफोनबाट कान्तिपुरलाई बताए। 
एसोसिएसन पदाधिकारीले बन्दरगाहबाट ढुवानी गर्न चाहने व्यवसायीहरूलाई पनि रोक लगाएका छन् । उनीहरूले ढुवानी व्यवसायी र क्लियरिङ एजेन्टहरूलाई कुटपिट गर्ने सम्मको धम्की दिइरहेको ती एजेन्टले बताए । एसोसिएसनलाई कोलकाताका स्थानीय विधायक तथा तृणमूल कांग्रेस नेता जनाब फिरहाद हकिम बबीको समर्थनसमेत रहेकाले बन्दरगाह प्रशासन तथा त्यहाँस्थित प्रहरीको युनिटले समेत सहजै व्यवसायीले बन्दरगाहको प्रवेशद्वारबाट हटाउन सकेका छैनन् । अवरोधका कारण सडक मार्गबाट एउटा पनि कन्टेनर बाहिरिन पाएको छैन ।

अवरोधले बन्दरगाहमा नेपालतर्फ आउने करिब १ हजार कन्टेनर थुप्रिएका छन् । नेपालले प्रयोग गर्ने भारतको उक्त एक मात्र बन्दरगाह हो । त्यहाँबाट मुलुकको मुख्य नाका वीरगन्ज, विराटनगर, भैरहवाका लागि दैनिक ठूलो संख्यामा मालवाहक तथा कन्टेनर बाहिरिने गरेका छन् । बन्दरगाहमा नेपालका लागि आउने कन्टेनरमध्ये करिब ६० प्रतिशत ढुवानी सडक मार्गबाट हुन्छ ।
कोलकातामा तेस्रो मुलुकबाट नेपालका लागि वार्षिक ४० हजार कन्टेनर आउने गरेका छन् । करिब १ महिनाअघि मात्रै रिटर्निङ शुल्क २० फिटको कन्टेनरका लागि १ हजार २ सय र ४० फिटका लागि १ हजार ५ सय पुर्‍याइएको थियो । 

कोई टिप्पणी नहीं: