बुधवार, 10 फ़रवरी 2016

भारतीय मन्त्रिहरुबाट कोइराला प्रति श्रद्धाञ्जलि


माघ २७ - छिमेकी मुलुक भारतले नेपालले देशका लागि जीवन समर्पण गरेका असल र सादगी नेता गुमाएकोमा दु:ख व्यक्त गरेको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाउँदै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।
‘नेपालले देशका लागि आफ्नो जीवन समर्पण गरेका असल र सादगी नेता गुमाएको छ, जसले नेपाललाई संक्रमणकालीन अवस्थामा नेतृत्व प्रदान गरे र नयाँ संविधान जारी गर्न महत्त्वपूर्ण योगदान दिए,’ राष्ट्रपति भण्डारीलाई पठाइएको पत्रमा भनिएको छ, ‘हामी सबैले उनको सादा जीवनबाट प्रेरणा लिनुपर्छ ।’ नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनसमेत कोइरालाको योगदान रहेको मुखर्जीले उल्लेख गरेका छन् ।
यसैगरी, मंगलबार बिहानै टवीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोकसन्तप्त परिवार र नेपाली जनताप्रति समवेदना व्यक्त गरेका थिए । उनले कोइरालाको सरलताबाट सबैले पाठ सिक्नुपर्ने उल्लेख गर्दै कोइरालाको निधनबाट नेपाली कांग्रेस र मुलुकले एक शीर्ष नेता तथा भारतले बहुमूल्य मित्र गुमाएको मोदीले जनाएका छन् ।
मंगलबार नै विशेष विमानबाट काठमाडौं आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहार अजित डोभल, कांंग्रेस आईका आनन्द शर्मा, जनता दल युनाइटेडका शरद यादव र भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम येचुरीले पनि भारतीय जनता र सरकारका तर्फबाट कोइरालाप्रति श्रद्धाञ्जलि दिए । उनीहरू अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै दशरथ रंगशाला पुगेर श्रद्धाञ्जलि दिएका थिए ।

शोक पुस्तिकामा उनीहरूले नेपालले सादा जीवन र उच्च विचार भएको लगनशील नेता गुमाएकोमा भारत दु:खी रहेको उल्लेख गरेका छन् । नेपालले एक सच्चा इमानदार र दृढ नेता गुमाएको र भारतले पनि सच्चा मित्र गुमाएको उनीहरूले उल्लेख गरेका छन् ।
कोइराला परिवारले भारतको स्वतन्त्रता संग्राममा निर्वाह गरेको योगदानको समेत ंचर्चा गर्दै उनीहरूले सुशीलको अथक् प्रयासबाटै नेपालमा लोकतान्त्रिक संविधान जारी भएको पनि उल्लेख गरेका छन् ।
 ‘संविधान जारीपछि देखापरेको समस्या समाधानका लागि उनले खेलेको भुमिकाको भारत उच्च प्रशंसा गर्दछ,’ उनीहरूले शोक पुस्तिकामा लेखेका छन् । कोइरालाले संविधान संशोधनको प्रस्ताव लगेर समझदारीका लागि गरेको प्रयासको इतिहासले मूल्यांकन गर्नेसमेत उनीहरूले रंगशालामा बताए ।
श्रद्धाञ्जलिलगत्तै भारतीय टोलीले कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, विदेश विभाग प्रमुख सुजाता कोइराला लगायतसँग भेट गर्दै नेपाली जनता, कांग्रेस नेता तथा परिवारजनमा हार्दिक समवेदना व्यक्त गरे ।
भेटमा उनीहरूले नेपालको समस्या समाधान र प्रजातन्त्रको सवलीकरणमा सुशील कोइरालाको भूमिका अतुलनीय रहेका भन्दै मिलेर लोकतान्त्रिक ढंगले कांग्रेस र मुलुकलाई अघि बढाउने जिम्मेवारी अबको नेतृत्वलाई आएको बताएका थिए । महाधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेर संविधान कार्यावन्यनमा भूमिका निर्वाह गर्नु नै कोइरालाप्रतिको सच्चा श्रद्धाञ्जली हुनेसमेत उनीहरूको भनाइ थियो ।
यसैगरी भारतीय दूतावासले पनि आफ्नो फेसबुक पेजमार्फत कोइरालाको निधनप्रति शोक व्यक्त गरेको छ । ‘कोइराला परिवार र नेपालका मित्रहरूप्रति हामी समवेदना व्यक्त गर्दछौं,’ दूतावासले भनेको छ ।
यस्तै, जनता दल युनाइटेडका शरद यादवले कोइरालाको निधनले नेपाली कांग्रेसलाई मात्र नभएर समग्र मुलुकलाई नै असर परेको बताएका छन् । उनले कोइराला प्रजातन्त्रका लागि एक सच्चा वाहक रहेको समेत बताए ।
कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले पनि शोक वक्तव्य पठाई संक्रमणकालीन समयमा नेतृत्व दिन सफल नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनले आफू मर्माहत भएको बताएकी छन् ।
कोइरालाको निधनले नेपालको राजनीतिमा अतुलनीय क्षति भएको र भारत तथा कांग्रेस आईले एक सच्चा मित्र गुमाएको पनि उनले उल्लेख गरेकी छन् ।
नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू बिहानैदेखि कोइराला निवास महाराजगन्ज, पार्टी कार्यालय सानेपा र रंगशालामा पुगेर कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
नेपालका लागि जापानी राजदूत मासासी ओगावा र युरोपियन युनियन (ईयू) की राजदूत रिन्छे टेरिन्कले पनि उपसभापति रामचन्द्र पौडेललाई छुट्टाछुट्टै पत्र लेख्दै कोइरालाको निधनले मुलुक र दलमा अतुलनीय क्षति पुगेको उल्लेख गरेका छन् । उनीहरूले पत्रमा कोइरालाको दृढ इच्छा शक्ति, लगन र सफल नेतृत्वबाट नै संंविधान जारी भएको र उनको स्पष्ट दृष्टिकोणबाट नेपालको छविलाई माथि उठाउन सकेको समेत उल्लेख गरेका छन् ।
यसैबीच भुटानको गृह तथा सांस्कृतिक मन्त्री दावा ग्याल्छेन र भारतको राष्ट्रवादी कांग्रेस पार्टीका महासचिव डा. डीपी त्रिपाठी श्रद्धाञ्जलिका लागि बुधबार काठमाडौं आउने भएका छन् । 

कोई टिप्पणी नहीं: