मंगलवार, 12 अप्रैल 2016

नेपालले २०१६ मै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने

३० चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटवल टोली प्रतियोगिताबिहीन हुनु नपर्ने भएको छ । सन् २०१६ को नोभेम्बरमा एशियाली फुटबल महासंघ एएफसीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको लागि प्रस्ताव गरेको छ । जुन प्रतियोगिताले एएफसी च्यालेन्ज कपलाई प्रतिस्थापन गर्नेछ ।
मलेसियाको क्वालालम्पुरमा बसेको एशियाली फुटबल महासंघ एएफसीको प्रतियोगिता आयोजना कमिटीको बैठकमा एएफसी च्यालेन्स कपको स्थानमा नयाँ प्रतियोगिता आयोजना गर्न सकिने प्रस्ताव पेश भएको हो । नयाँ प्रतियोगिताको नाम भने तोकिएको छैन । प्रतियोगिता नोभेम्बर २०१६ र सेप्टेम्बर २०२० मा गर्न प्रस्ताव गरिएको छ । एशियाली मुलुकका कमजोर बरियाताका मुलुकहरुबीच प्रतियोगिता आयोजना गर्न लागिएको हो । जसले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलहरु आयोजना गर्न सक्दैनन् ।
प्रतियोगितामा नेपाल लगायत ब्रुनाई, मकाउ, मंगोलिया, पाकिस्तान र श्रीलंकालाई समावेश गरिने छ भने बाँकी दुई टोली युएईमा सन् २०१९ मा हुने एशियाली कप छनौटको प्लेअफबाट बाहिरिएका दुई टोलीहरुलाई समावेश गरिनेछ । एएफसीको बैठकले सबैको सहमतिमा प्रतियोगितास्थल छनौट गर्न सकिने पनि प्रष्ट पारेको छ ।

१४ दिनसम्म चल्ने प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा बिभाजन गरिनेछ । प्रतियोगितामा सहभागी मुलुकको फुटबल संघलाई प्रतियोगितामात्र नभई रेफ्री, प्रशिक्षक, टेक्निकल र इभेन्ट म्यानेजमेन्टका कोर्षहरुपनि सञ्चालन गरिनेछ ।
एएफसी च्यालेन्ज कप फुटवल पछिल्लो पटक काठमाडौंमै २०१४ मा आयोजना गरिएको थियो । त्यसयता यस प्रतियोगिताको आयोजना अनिश्चित बन्दै आएको थियो ।
दुई महिनाअघि भारतमा सम्पन्न १२औं सागको स्वर्ण जितेपछि नेपाली फुटबलटोली सन् २०१७ को अन्त्यसम्म प्रतियोगिताबिहीन थियो । राष्ट्रिय टोलीलाई व्यस्त बनाइराख्ने योजना अनुसार नेपालले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्ने निर्णय एन्फाले गरेको थियो । त्यसै अनुसार दुई साताअघि नेपालले मलेशियाको युवा टोलीसँग मैत्रिपूर्ण फुटबल खेलेको थियो । नेपालले आगामी मे मा मलेसियाकै राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्दैछ ।

कोई टिप्पणी नहीं: